धरान: किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीले यलम्बर सम्बत ५०८२ यले दोङलाई विविध कार्यक्रम गरि सप्ताहव्यापीरुपमा मनाउने भएको छ ।
यायोक्खा सुनसरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सप्ताहव्यापी कार्यक्रमबारे जानकारी दिएको हो । जसअनुसार पुष २१ गते थ्री अन थ्री महिला बास्केटवल प्रतियोगिता डिपो उच्च माविको बास्टेवल कोर्टमा आयोजना हुनेछ भने २३ गते यायोक्खा सुनसरी र नेपाल पत्रकार महासंघबीच फुटसल प्रतियोगिता धरान १५ स्थित विग फुटसलमा हुने यायोक्खा सुनसरीका सचिव नविन राईले जानकारी दिए ।
यस्तै, पुष २५ गतेदेखि २७ गतेसम्म सुनसरी भरिका किरात राईहरुको घर घरमा झण्डा राख्ने कार्यक्रम हुनेछ । पुष २८ गतेदेखि माघ १ गतेसम्म साकेला साँस्कृतिक पार्क एवं सुनसरीका राईहरुको घरमा दीप प्रज्वलनको कार्यक्रम गरिने पनि यायोक्खा सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङले जानकारी दिए ।
पुष ३० गते धरानको भानुचोकमा यलम्बर साँझ ५०८२ आयोजना गरिने भएको छ । उक्त कार्यक्रममा चर्चित गायिका मेलिना राई, विल्सन विक्रम राई (तक्मे बुढा)को प्रस्तुती रहनेछ भने किरात राई साँस्कृतिक कलाकार संघका कलाकारहरु, स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहनेछ । कार्यक्रमको प्रमुख अतिथि १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई रहने पनि प्रचारप्रसार उपसमिति संयोजक विकास चाम्लिले जानकारी दिएका छन् ।
किरातहरुले माघ १ गतेलाई यलम्बर सम्बतकोरुपमा मनाउने गर्छन् । यायोक्खाले माघ १ गते माघे संक्रान्तिको अघिल्लो दिनलाई किराती नयाँ बर्षको आगमनको रुपमा यलम्बर साँझको आयोजना गरि मनाउने गरेको छ । किरात राजा यलम्बरले शुरु गरेको मौलिक सम्बत्लाई संरक्षण, सम्र्बद्धन र विकास गर्दै लैजाने उद्देश्यले यले दोङलाई सप्ताहव्यापीरुपमा मनाइने तयारी गरिएको अध्यक्ष राजेन्द्र राईले बताए । राईहरुले यलम्बर सम्बत्, लिम्बुहरुले यले तङ्वे, सुनुवार जातिले यले थोंचे र याक्खा जातिले यले सम्बत् भन्ने गर्छन् ।