धरान: सरकारले स्थानीय तह निर्वाचन आगामी २०७९ बैशाख ३० गते गर्ने निर्णय गरेसँगै चुनावी सरगर्मी बढेको छ । 

चुनावको मिति घोषणाले राजनीतिक दलका नेता, कार्यकर्ताहरुमा मात्र होइन, आम सर्वसाधारणहरुमा उम्मेदवारबारे चासो ह्वात्तै बढेको छ । सामाजिक सञ्जाल, चिया गफ भने अबको चुनाव कुन पार्टीले जित्छ ? चुनावमा कुन पार्टीबाट को उम्मेद्वार होला ? भन्नेमा केन्द्रीत छ । यद्यपी, राजनीतिक दलहरुबाट अहिल्यै को उम्मेदवार हुन्छन् भन्ने निश्चित छैन ।

उम्मेदवार अहिल्यै टुंगो नलागे पनि राजनीतिक दलहरु चुनाव लक्षित गतिविधिमा केन्द्रीत हुन थालिसकेको छ । धरानमा प्रमुख तीन पार्टी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुनेछ । तर, सत्ता गठबन्धनमा कांग्रेस र माओवादी केन्द्र भएकोले निर्वाचनमा पनि गठबन्धन हुने सम्भावना छ । त्यसो भएमा एमाले भर्सेस गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ । 

धरानमा एमाले भित्रको खटपट समाधानतर्फ अघि बढेको छ । जिल्ला अधिवेशन, नगर कमिटी समायोजन र विवादित ६ वटा वडा कमिटीको पनि विवाद हल भइसकेको छ । नेकपा माओवादी केन्द्रले वडा भेला र नगर सम्मेलन सम्पन्न गरेपनि पदाधिकारीविहिन छ । चाडै पदाधिकारी चयन गर्ने र चुनावी अभियानमा लाग्ने माओवादी केन्द्रको तयारी छ । विवादकै कारण ७ पदाधिकारी चयन हुन सकेको छैन । कांग्रेस भने अधिवेशन पश्चात संगठन विस्तारलाई तीब्रता दिइरहेको छ । विभिन्न वडाहरुमा टोलस्तरमा कमिटी गठन गर्दै कांग्रेसले आफुलाई धरानमा वलियो पार्टीकोरुपमा उभ्याइरहेको छ । 

धरानमा २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेको मेयर, उपमेयर र १४ वटा वडाअध्यक्ष जितेको थियो भने कांग्रेसले ५ वटा वडाअध्यक्ष जितेको थियो । माओवादी केन्द्रले एउटा मात्र वडा जितेको थियो । तत्कालिन मेयर तारा सुब्बाको निधन पछि भएको उपनिर्वाचनमा भने लालकिल्ला तोड्दै नेपाली कांग्रेसले धरानमा ऐतिहासिक जित दर्ता गरेको थियो । एमाले र माओवादी केन्द्र एकता भएपछि बनेको नेकपाको उम्मेदवारलाई कांग्रेसले पराजित गरेपछि धरानको उपनिर्वाचनको परिणामले अत्यधिक चर्चा पाएको थियो । 


पार्टी मजबुद बनाउदैछौ: हर्कजंग एभेङ, एमाले अध्यक्ष

harka-eveng

नेकपा एमालेका धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजंग एभेङले पार्टीलाई मजबुद बनाउने अभियानमा रहेको बताए । उनले टोल कमिटी गठन, पार्टी प्रवेश कार्यक्रम भइरहेको दाबी गरे । साथै, संगठित सदस्य र मतदाताहरुको व्यक्तिगत वितरण अध्ययन गर्दै पार्टीलाई वलियो बनाउने अभियानमा रहेको बताए । 

आफुहरु निर्वाचनकै प्रतिक्षामा रहेको भन्दै सरकारले घोषणा गरेको घोषणा स्वागत योग्य रहेको पनि बताए । अध्यक्ष एभेङले भने,‘चुनाव जित्ने योजनाका साथ पार्टीलाई वलियो बनाउन लागेको छौ । गठबन्धन एकातिर उठे पनि छुट्टा छुट्टै उठे पनि वलियो भएर विजय हासिल गर्ने गरि लागेका छौं ।’

उनले पार्टीभित्रको थोरै समस्या केही समय रहे पनि जिल्ला कमिटीको वैठक पछि सबैले सम्मानजनक जिम्मेवारी पाउने र हल हुने बताए । नगर कमिटीले पनि आउदो बैठकबाट सबैलाई उचित सम्मान र व्यवस्थापन गर्दै जिम्मेवारी दिएपछि विवाद पुर्णरुपमा हल हुने उनको भनाई छ । ‘हिजोको जस्तो अवस्था आज छैन, अबको जिल्ला र नगर कमिटी बैठकबाट पुर्णरुपमा व्यवस्थापन गछौ, र पार्टी एकढिक्का भएर अघि बढ्छ,’उनले भने ।

 कांग्रेसमा लहर छ: श्याम पोखरेल, कांग्रेस सभापति

shyam-pokrel

नेपाली कांग्रेसका धरान उपमहानगर सभापति श्याम पोख्रेलले आफुले १४ औं अधिवेशनमा उम्मेदवार हुँदा गरेको प्रतिवद्धता अनुसार तिहार पछि टोल टोलमा संगठन विस्तारलाई तीब्रता दिइरहेको बताए । अहिले कांग्रेसले पार्टीलाई जराबाट नै वलियो बनाउन टोल समिति गठन भइरहको उनले बताए । सभापति पोखरेलले भने,‘पहिला चुनाव आउदा मात्र कांग्रेस गाउँ छिर्छ भन्ने थियो, तर अहिले हामी पहिला नै टोल टोलमा पुगेर कमिटी गठन गरिरहेको छौ, पार्टीमा प्रवेश पनि भइरहेको छ ।’

सभापति पोखरेलका अनुसार अहिले कांग्रेसमा लहर बढेको छ, र आगामी चुनाव जित्ने गरि संगठन विस्तार भइरहेको छ । उनले उपमहानगरपालिकाको टि.एल.ओ.को अवधारणा अनुसार नै कांग्रेसले पनि टोल कमिटी बनाउने लक्ष्य राखेको बताए । ‘उपमहानगरको जति टि.एल.ओ. छ, त्यतिकै बनाउछौ । फागुन मसान्तसम्म साढे ५ सय टोल कमिटी बनाउछौ,’ उनले भने,‘हाम्रो गतिविधि चुनाव लक्षित नै छ । सबै लागेका छौ, तल्लो तहसम्म पुगेको छौ, र हौसला छ।’

धरानमा कांग्रेसले धेरै पटक चेत खाइसकेको हुनाले चेत खुलेपछि गएको उपनिर्वाचनमा जित हासिल गरेको बताए । अब पनि गुट उपगुट नहुने र जसले टिकट ल्याएर आउछ, ती उम्मेदवारलाई जिताउने गरि पार्टी एक भएर लाग्ने पोखरेलले बताए । 


धरानमा ५० प्रतिशत वडा जित्छौ: सुर्दशन श्रेष्ठ, माओवादीका निवर्तमान अध्यक्ष 

sudarsan-sth

नेकपा माओवादी केन्द्रका निवर्तनमा अध्यक्ष सुर्दशन श्रेष्ठ आगामी स्थानीय तह निर्वाचनमा धरानमा ५० प्रतिशत वडा जित्ने लक्ष्य लिएको बताए । उनले संगठन सुदृढिकरण र जनसंगठनलाई पनि सुदृढ बनाउन अभियान चलाउने बताए । यही २७, २८ र २९ गते हुने पार्टीको केन्द्रीय कमिटी बैठकले ठोस योजना तथा कार्यक्रम ल्याउने भन्दै उनले भने,‘पार्टीलाई जनतासँग जोड्ने अभियान चलाउछौ । आगामी निर्वाचनमा धरानमा ५० प्रतिशत वडामा जित्छौं । अहिले धरानमा १ छौं, अब ९ जोडेर १० वडामा जित्छौं ।’

माओवादी केन्द्रको गएको नगर अधिवेशनबाट ८० सदस्यीय उपमहानगर कमिटी चयन भएको छ । अब १ जना नगद सदस्य मनोनित हुनुपर्ने छ भने ७ जना पदाधिकारीहरु चयन गर्न बाँकी नै छ । लामो समय बितिसक्दा पनि पदाधिकारी चयन नहुदा धरानमा माओवादी केन्द्र नेतृत्वविहिन छ । यसले पार्टीका कार्यकर्ताहरुलाई निराश पनि बनाएको छ । अध्यक्षका प्रवल दाबेदार रहेका श्रेष्ठ भने ढिलोमा फागुन पहिलो साता पदाधिकारी चयन भइसक्ने र टोल कमिटीहरु पुर्नगठन, सुदृढिकरण अभियान लिएर जाने दाबी गर्छन् । उनले भने,‘सबै वडाहरुमा सम्मेलन भइसकेको छ, अब पदाधिकारी चयन गरेपछि टोलहरुमा पुर्नगठन र सुदृढिकरण अभियान लिएर जान्छौ, त्यो चुनाव लक्षित हुनेछ ।’

केही दिनअघि माओवादी केन्द्रको वडा नं १६ र १२ को कमिटी अध्यक्ष पदाधिकारीहरु, अन्य वडाहरुबाट पनि एमाले प्रवेश गरेका थिए । माओवादी केन्द्रका निवर्तमान अध्यक्ष श्रेष्ठ भने मुलबाटो भेटेको भन्दै एमाले गएकाहरु चौबाटोमा पुगेर अलमलिएपछि पुनः माओवादी केन्द्रमा नै फर्कन दाबी गर्छन् । ‘केही साथीहरु मुलबाटो खोज्न जानुभएको छ, तर चौबाटोमा पुगेर अलमलिएपछि फर्केर आउनुहुन्छ,’श्रेष्ठले भने,‘पार्टी समुन्द्र हो, एक दुई गाग्री पानी झिक्दैमा केही फरक पर्दैन । अरु क्षमतावान साथीहरु छन्, उहाँहरुले नेतृत्व गरेर जानुहुन्छ ।’