धरान: उत्तरी मोरङको लेटाङ ८ ज्यामिरेकी ११ बर्षीया करुणा राईको हत्या आशंकामा पक्राउ परेका एक वृद्धले अपराध स्वीकार गरेका छन् ।
लेटाङ प्रहरीका अनुसार ६३ बर्षीय दिपक गिरीले बालिकाको हत्या स्वीकार गरेका हुन् । प्रारम्भिक अनुसन्धानबाट उनको संलग्नता देखिएपछि नियन्त्रणमा लिएको र उनले वयानमा पनि स्वीकार गरेको प्रहरी निरीक्षक रोमन अर्यालले जानकारी दिए । उनले भने, ‘अनुसन्धानको क्रममा उनको संलग्नता देखिएको छ, वयानमा पनि उनले स्वीकारेको छ ।’
प्रहरीका अनुसार अनुसन्धानको क्रममा ४ जना पक्राउ परेका थिए । ती मध्ये अहिलेसम्म गिरीको मात्र घटनामा संलग्नता भएको देखिएको छ । अरुको संलग्नता नदेखिएपछि छुटेका छन् । पक्रउ परेका गिरीको घर घटनास्थल क्षेत्र वडा न। ८ मा नै भएको पनि अर्यालले जानकारी दिए । गिरीको श्रीमतिको करिब डेढ महिना अघि क्यान्सरबाट मृत्यु भएको थियो ।
प्रहरी निरीक्षक अर्यालका अनुसार गिरीले स्कुल छुट्टी भएपछि एक्लै घर फर्कदै गरेकी करुणालाई बलात्कार प्रयास गरेका थिए । तर उमेर सानो भएर बलात्कार गर्न नसकेपछि हत्या गरेको गिरीले वयानको क्रममा स्वीकारेको पनि प्रहरी निरीक्षक अर्यालले बताए । ‘रेप गर्न खोजेको तर बच्चा नै भएकोले सफल नभएपछि मारेको भनेकोछ,’उनले भने ।
बुधबार स्कुलबाट घर फर्कने क्रममा करुणा हराएकी थिइन् । उनको खोजी गर्ने क्रममा हिजो शुक्रबार मात्र जंगलमा खाल्डोमा शव गाडेको अवस्थामा भेटिएको थियो । हत्यारालाई कडा कारबाही गर्न माग गर्दै स्थानीय तथा विद्यार्थीहरुले आन्दोलनसमेत गरेका थिए । मृतकको शव पोष्टमार्टम गर्न धरान ल्याइएको छ ।