धरान: धरान १७ स्थित सर्दुखोला किनारको आसपासमा अतिक्रमण गरि बसेको नयाँ घर टहरालाई हटाउने निर्णय गरिएको छ ।
धरानका मेयर तिलक राईको अध्यक्षता तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थितिमा आइतबार धरानमा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले २०७२ साल पछि सार्वजनिक जग्गा अतिक्रमण गरि बसेका बस्तीहरु क्रमबद्धरुपमा हटाउने निर्णय गरेको धरानका मेयरका प्रेस संयोजक पारस राईले जानकारी दिएका छन् । पछिल्लो समय धरान १७ को सर्दु खोला किनारमा अतिक्रमण तथा जग्गा किनबेच भइरहेको छ ।
नयाँ बस्तीहरु हटाउने कार्यको शुरुवात धरान वडा नं. १७ को नयाँ अतिक्रमित क्षेत्रबाट गर्ने निर्णय गरेको छ । धरान उपमहानगरपालिका वडा नं. १७ देविथान र कालापानीलगायत खोला किनार, बगर र बहाव क्षेत्र अतिक्रमण गरी रातारात बस्ति बस्ने क्रम नरोकिएको, यसले खुल्ला क्षेत्र र सार्वजनिक जग्गाको संरक्षणमा अवरोध पुगेको, नगरको सुन्दरता कुरुप बन्दै गएकोले जिल्ला तथा धरानका सबै राजनितिक दलहरुले बाधा अवरोधहरुको सामुहिक प्रतिवाद एवं व्यवस्थापन गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ । बैठकले जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायहरु र राजनितिक दलहरुको सकृय सहभागिता एवं संलग्नता र समन्वयमा सम्पन्न गर्ने समेत निर्णय गरेको हो ।