धरानः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले चुनावी गठबन्धन खाए खा नखाए घिच जस्तो नहुने बताएका छन् । 

स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरु वीच चुनावी गठबन्धनको गृहकार्य भईरहेको वेला नेपाली कांग्रेसको क्षेत्र नं. १ सुनसरीले धरानमा आयोजना गरेको वृहत प्रशिक्षण तथा घरघर जाऔं कांग्रेस जिताऔं कार्यक्रमलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता कोइरालाले स्थानीय आवश्यकताका आधारमा मात्र गठबन्धन हुने प्रष्ट पारे । 

उनले १ नं.क्षेत्रीय समितिले वडा वडामा कार्यक्रम गर्दे अत्यावश्यक प्रशिक्षण कार्यक्रमहरु गर्दै पार्टीको सशक्तिकरण गरेको पनि बताए । साथै सुनसरी क्षेत्र नं. १ ले छिट्टै मन्त्री पाउने पनि उनले खुलासा गरेका छन् । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख प्रशिक्षक एवम् नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको इतिहास र सैद्धान्तिक प्रारुपका विषयमा प्रशिक्षण दिएका थिए । 

congress 1

संघीय सांसद मीना सुब्बाले एमालेको दम्भ र दादागिरीले डुब्न लागेको हाम्रो देशलाई पार्टी सभापति शेरवहादुर देउवाको नेतृत्वमा बचाउने काम भईरहको बताईन् । प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचनमा महिलालाई पनि प्राथमिकता दिनुपर्ने बताए । प्रदेश महामन्त्री उमेश थापाले एम.सी.सी. नेपालको विकास र समृद्धिको पक्षमा ऐतिहासिक कदम भएको भन्दै खोक्रो राष्ट्रवादाी कम्युनिष्टहरुले विभिन्न भ्रम फैलाएर तुहाउन खोजे पनि हाम्रो पार्टीको समाझदारीपूर्ण भूमिकाले सफल भएको बताए ।

जिल्ला सभापति केदार भण्डारीले क्षेत्रीय समितिले गरेको राजनीतिक र सांगठनिक गतिविधिले क्षेत्रभरी कांग्रेसको संगठन मजबुद बनेको र जनमत सिर्जना भएको बताउंदै स्थानीय तहको निर्वाचनमा आकांक्षीहरु मध्येका उत्कृष्टले टिकट पाउने बताए । कार्यक्रममा जिल्ला उपसभापति नगेशचन्द्र राई, जिल्ला सचिव माधव घिसिङ, क्षेत्रीय उपसभापति तथा प्रदेशसभा १(२) का सभापति मुरारी भट्टराई लगायतले मन्तव्य राखेका थिए ।