धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रसुतीको क्रममा आमा र बच्चा दुवैको मृत्यु भयो । मृतक इटहरी ४ की लक्ष्मी बुढाथोकी हुन् ।
लक्ष्मीले पहिलो सन्तान जन्म दिन लागेकीले पनि यो परिवारमा खुशी छाएको थियो । तर, अहिले बुढाथोकी परिवारका सदस्यहरु अकल्पनिय पीडामा छन् । लक्ष्मीको माइतीमा पनि उस्तै बज्रपात भएको छ । लक्ष्मीकी आमाको आशु थामिएको छैन । सिरहा गोलबजारीकी लक्ष्मीको गत जेठ ६ गते इटहरी ४ हलगडाका विनोद बुढाथोकीसँग विवाह भएको थियो । लक्ष्मीका सुसरा बा कृष्णबहादुर बुढाथोकी उपचारमा लापरवाही भएकोले बच्चा र आमा दुवैको मृत्यु भएको बताउँछन् । बच्चाको मृत्यु भए पनि आमा बचाउछौं भन्ने डाक्टरहरुले आमालाई पनि बचाउन नसकेको भन्दै उनले पीडा पोखे ।
मृतक लक्ष्मीका ससुरा कृष्णबहादुरले व्यथाले असाध्यै पीडा भोगेकी बुहारीलाई समयमा नै अप्रेशन गरिदिनु भन्दा पनि डाक्टरहरुले नमानेको बताउछन् । समयमा नै अप्रेशन गरेको भए बुहारी र बच्चा दुवै बच्ने भन्दै उनले लापरवाही गर्नेलाई कारबाही गर्न र क्षतिपूर्ति दिनुपर्ने माग गरे । प्रतिष्ठानका गाइनो विभागका डाक्टर एवं पुर्व डेपुटी डाइरेक्टर डा.पप्पु रिजालले भने लापरवाही नभएको दाबी गर्दै नर्मल अवस्थामा नै डेलिभरी गराउने प्रयासमा बच्चाको पेटभित्रै मृत्यु भएको बताए । साथै उनले मृत बच्चालाई पनि नर्मल डेलिभरीमार्फत बाहिर निकाल्ने क्रममा अचानक पल्मनरी एडिमा(फोक्सोमा पानी भरिएर)मुखबाट फिज आएको र मृत्यु भएको बताए । ‘डाक्टरहरु पनि कसैको ज्यान जाओस् भन्ने चाहदैनन्, कतिपय कुरा अचानक हुन्छ, र त्यो बेला डाक्टरले पनि केही गर्न नसक्ने हुन्छ,’उनले भने ।