मोरङ: मंगलबार राती टिपरको ठक्करले एकै परिवारका दुईको मृत्यु भएपछि अशान्त बनेको विराटनगर १९ मिलनचोक क्षेत्र शान्त बनेको छ ।
जनप्रतिनिधि तथा प्रहरी प्रशासनको पहलमा सहमति भएपछि विराटचोक–विराटनगर सडक खण्डमा यातायात पनि सुचारु भएको छ । आन्दोलित स्थानीयबासीसँगको छलफलमा घटनाबारे कानुनी कारबाहीमा अघि बढ्ने र व्यवहारिकताको बिषयमा पनि थप छलफल गर्ने सहमति भएको मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । ‘सडक खुलिसकेको छ, कानुनी प्रक्रियामा अघि बढ्ने सहमति भयो, व्यवहारिकरुपमा पनि हेर्ने भन्ने बिषयमा काजक्रिया पछि छलफल हुन्छ,’एसपी अधिकारीले भने ।
हिजो राती करिब पौने ९ बजे विराटनगर १९ मिलन चोक नजिकै पुर्वबाट पश्चिम जादै गरेको टिपरले विपरीत दिशाबाट आइरहेको टेम्पोलाई ठक्कर दिएको थियो । ठक्करबाट टेम्पो चालक बाबुराम सरदार र उनकी ६ बर्षीय नातिनि सविता सरदारको घटनास्थलमा नै मृत्यु भएको थियो । यो घटनालगत्तै राती नै आक्रोशित स्थानीयबासीले टिपरमा आगो लगाइदिएका थिए भने आज बिहानैदेखि स्थानीयबासी सडकमा टायर बालेर प्रर्दशनमा उत्रिएका थिए । स्थानीयको आन्दोलनले विराटचोक विराटनगर सडकखण्ड अवरुद्ध भएको थियो ।
सडक खुलाउन प्रहरी तथा जनप्रतिनिधिहरुको पहलमा मृतक परिवारलाई क्षतिपूर्ति दिलाउनेबारे औपचारिकरुपमा वार्ता गर्ने सहमति पछि यातायात सुचारु भएको हो । आन्दोलनले सर्वसाधारण नागरिकहरुलाई नै सास्ती भएको महसुस गर्दै स्थानीयबासीहरुले तत्काललाई आन्दोलन स्थगित गर्न सहमत भएको मोरङ जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी मानबहादुर राईले जानकारी दिए । डिएसपी राईका अनुसार मृतक परिवारलाई क्षतिपूर्ति दिलाउनेबारे औपचारिक छलफल गर्ने सहमति पछि स्थानीयबासीले आन्दोलत स्थगित गरेका हुन् । ‘मृतक परिवारलाई क्षतिपूर्तिबारे टिपरवालासँग सहजीकरण गर्ने भनेर प्रशासन र स्थानीय जनप्रतिनिधिबीच सहमति जुट्यो, क्षतिपूतिबारे औपचारिक छलफल हुन्छ,’उनले भने ।