धरान: धरानको वडा नं ६ पानवारीकी बलात्कृत वालिकाका अभिभावक एवं संरक्षकले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
आज बिहान पीडित पक्षले दिएको जाहेरी इलाका प्रहरी कार्यालय धरानले दर्ता गरिसकेको छ । आरोपित सन्तोष कार्कीलाई प्रहरीले हिजो साँझ नै पानवारीबाट पक्राउ गरिसकेको थियो । जाहेरी परेपछि दर्ता गरेर पीडितको मेडिकल जाँच, पीडकलाई म्याद थपलगायतको आवश्यक प्रक्रिया शुरु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । ‘मौखिक उजुरी परेपछि अभियुक्तलाई हिजो नै पक्राउ गरेर ल्याइसकेका छौं, आज जाहेरी आयो, दर्ता गरेर अन्य थप प्रक्रिया शुरु भइसकेको छ,’डिएसपी न्यौपानेले भने ।
पीडित बालिकाको उमेर १४ बर्ष मात्र रहेको छ । उनको आमा सानैमा मृत्यु भएको र बुबा पनि वेपत्ता भएकोले उनी आफन्तको संरक्षणमा बस्दै आएकी थिइन् । संरक्षक पीडित बालिकाकी हजुरबा हजुरआमा पर्ने हुन् । उनीहरु पहाड घर संखुवासभामा भएको बेला पीडक कार्कीले स्कुटर सिकाइदिने वहानामा जंगलमा लगेर बलात्कार गरेको पीडित बालिकाले बताइन् । ‘स्कुटर सिकाइदिन्छु भनेर तल जंगलमा लग्यो । हात समातेर लडाएर जर्बजस्ती गर्यो,’उनले भनिन् । उनका संरक्षकहरु दुई दिनअघि मात्र संखुवासभाबाट घर आएपछि यो घटना खुलेको हो ।
जाहेरी दर्ता गर्न महिला सञ्जाल धरानकी अध्यक्ष सविता राई, महिला नेतृ सावित्री चौलागाई(भुमिका) पनि पीडित वालिकाका संरक्षकहरुसँगै इलाका प्रहरी कार्यालय पुगेका थिए । सञ्जालकी अध्यक्ष राईले मौखिक जाहेरीकै आधारमा प्रहरीले पीडकलाई पक्राउ गर्नु सकरात्मक भएको उल्लेख गर्दै अभियुक्तलाई हदैसम्मको कारबाही होस् भन्ने माग गरिन् । ‘एउटी १४ बर्षकी नावालिका बलात्कृत भएकी छिन्, पीडकलाई हदैसम्म कारबाही होस्,’उनले भनिन्,‘प्रहरीले मौखिक जाहेरीकै आधारमा हिजो पीडकलाई पक्राउ गर्यो, र भाग्ने मौका पाएन, यो सकरात्मक छ ।’