धरान: छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अत्यधिकरुपमा फैलिन भुमिका खेलेको भनिएको दिल्लीमा आयोजित मुश्लिमहरुको धार्मिक सभामा सहभागी भएका भनिएका सप्तरीका ८ जनाको स्वाबको नमुना परीक्षणको लागि धरान ल्याइएको छ ।
भारतका मिडियाहरुमा नेपालबाट पनि सहभागी भएको भन्ने समाचारहरु आउन थालेपछि सहभागी भएका व्यक्तिहरुको खोजी गरिएको थियो । सोही क्रममा ८ जना सप्तरीको राजविराजका व्यक्तिहरु भएको पाइएको थियो । उनीहरुलाई हाल क्वारेन्टाइनमा राखिएको छ भने गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालले स्वाबको नमुना लिएर परीक्षणको लागि धरान पठाएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले कुल ९ जनाको स्वाब वीपी प्रतिष्ठान पठाइएको जानकारी दिए । उनका अनुसार धार्मिक सभाबाट फर्किएका ८ जना र एक जना कतारबाट आएका व्यक्तिको पनि स्वाब परीक्षणको लागि धरान पठाइएको हो ।
यता, वीपी प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले साँझ थप केही स्वाबहरु आएको अनौपचारिक जानकारी भएपनि कहाँबाट र कति आएको भन्ने यकिन नभएको बताए । उनले यो बिषयमा भोली शुक्रबार बिहान मात्र आवश्यक जानकारी आउने भएकोले अहिले भन्न नमिल्ने बताए । 'साँझ केही स्वाब आएको भन्ने थाह भयो, तर कहाँबाट, कति आएको भन्ने जानकारी छैन । त्यसैले भोली मात्र सबै कुरा थाह हुन्छ,'डा.ऐरले भने ।