धरान: धरानका मुश्लिम ८ जना युवाहरु भारतको दिल्लीस्थित धार्मिक सभामा गएर आएको भन्ने आज बिहानैदेखि हल्ला चल्यो । दिल्लीको उक्त धार्मिक सभाले नै भारतभर कोरोना संक्रमण फैलाउन भुमिका खेलेको भनिएको छ ।
हुन त यसअघि नै अञ्जुन स्लामियाले विज्ञप्ती जारी गरेर दिल्लीको कार्यक्रममा धरानबाट कोही पनि नगएको प्रष्ट पारिसकेको थियो । त्यसो भए दिल्ली गएको भनिएका ती युवाहरु कहाँ गएका हुन् ? धरानका मुश्लिम अगुवाहरुसँग सम्पर्क गर्दा धरानका युवाहरु दिल्ली नभै कलकत्ताको धार्मिक कार्यक्रममा सहभागी भएको खुल्यो । धरानका ती युवाहरु कलकत्ताको कोलुतोला मर्जकमा सहभागी भएर फर्किएका छन् । तर, उनीहरु धरान आइपुगेका छैनन् ।
अञ्जुमन स्लामियाका अध्यक्ष युसुफ शेखका अनुसार ८ जना युवाहरु अहिले पनि मोरङको कटहरी गाउँपालिकास्थित एक मञ्जिदमा क्वारेन्टाइनमा नै बसिरहेका छन् । उनीहरु करिब २० दिन अघि नै कटहरी आइपुगेका हुन् । त्यसैले कुनै खतरा वा जोखिम नभएको अध्यक्ष शेखले बताए । 'हामी पनि जिम्मेवार नै छौं, ८ जनालाई निगरानीमा नै राखेका छौं,'उनले भने,'अझै पनि उनीहरुलाई धरान आउन दिदैनौं ।'
मुश्लिम अगुवाहरुका अनुसार धरानका युवाहरु गएको कलकत्ताबाट अहिलेसम्म कोरोना संक्रमण फैलिएको वा संक्रमण भएको खबर सुनिएको छैन । त्यसैले यी युवाहरुमा पनि अहिलेसम्म कुनै संक्रमणको लक्षण देखिएको छैन । इस्लामियाका सचिव अफाक अहमदले पनि एक जना व्यक्ति धरान आइपुगेको भन्ने गलत अफवाह फैलाएको तर यो वास्तविकता नभएको बताए । 'अहिले पनि उनीहरु कटहरीमा नै बसिरहेका छन्, क्वारेन्टाइनको समय पनि सकियो तर पनि अझै उतै छ । त्यसैले उनीहरुबाट कुनै जोखिम पनि छैन,'उनले भने । धरानका मेयर तिलक राईले पनि धरानका मुश्लिम युवाहरु दिल्ली नभै कलकत्ता गएको पाइएको बताए । एक जनासँग आफ्नो कुरा पनि भएको मेयर राईले बताए ।