मोरङः सुन्दरहरैँचा नगरपालिकाले नगरक्षेत्र भित्र रहेका अति विपन्न परिवारलाई एक महिनासम्म भोकै हुन नदिने तयारी गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमले गर्दा मुलुक लकडाउनमा गएको दुुइ हप्ता पुगिसकेको हुँदा दैनिक मजदुरी गरेर परिवार पाल्ने विपन्न वर्ग र असहाय वर्गलाई एक महिनाका लागि चाहि खाद्यान्न र अतिआवश्यकीय वस्तुको भण्डारण गरिएको मेयर शिव ढकालले जानकारी दिएका छन् । ढकालका अनुसार पहिलो चरणको राहत वितरण गरिसकिएको छ ।

हरेक वडाभित्र रहेका बृद्ध असहाय, दृष्टिविहिन र अपाङ व्यक्तिलाई प्रतिवडा १ सय ५० प्याकोटका दरले चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न पुर्याइएको छ । त्यस्तै आइतवारदेखि विपन्न समुदायका परिवार लक्षित राहत वितरण थालिएको छ । ‘मुलुकको विषम परिस्थितिलाई मध्यनगर गरेर गरिब जनता भोकै बस्नुनपरोस् भन्ने ध्याउन्नमा छौँ,’ढकालले भने,‘नगरले आफ्ना नागरिकलाई भोकै राख्न दिँदैन, सबैसँग सहकार्य गरेर जनता पाल्ने सामथ्र्य लिएर बसेका छौँ ।’

नगरले केदार गुरागाईको संयोजकत्वमा टीका कट्टेल र हरिसचन्द्र ढकाल सदस्य हुने गरी सर्वदलीय, सर्वपक्षीय समिति निर्माण गरेको छ । जसले राहतका लागि विभिन्न संघसंस्थासँग समन्वय गर्छ भने संकलित राहतलाई एकद्धार प्रणालीमार्फत वितरण गर्न नगरपालिकालाई सघाउ पुर्याउँछ । उक्त समितिले उद्योग वाणिज्य संघ, निजी क्षेत्रका व्यवसायी, जेसिसलगायतका संस्थामार्फत सहयोग जुटाउने क्रम जारी छ ।

यसरी संकलन भएको राहत नगरका १२ वडामा वितरण गरिन्छ । अति विपन्न परिवारलाई यकिन गरेर वडा अध्यक्षको निगरानीमा राहत बाँडिएको छ । सुन्दरहरैँचाका आसपासका खोला किनारामा गिटि कुटेर र दैनीक मजदुरी गरेर परिवार पाल्नेको संख्या अधिक रहेको छ । लकडाउनका बेला कामबिहिन भइ परिवार पाल्न हम्मेहम्मे परिरहेका विपन्न वर्गलाई स्थानीय तहको यो सहयोगले धेरै राहत मिलेको देखिन्छ ।