धरान: पर्यटकीय गाउँपालिका साँगुरीगढी ६ स्थित भेडेटार नजिकै जंगल क्षेत्रमा लागेको आगो चौबिस घण्टा बितिसक्दा पनि नियन्त्रणमा आउन सकेन ।

आज सोमबार बिहानैदेखि नेपाली सेना, सशस्त्र, जनपद र स्थानीबासीहरुले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर, तीब्र हावाहुरी साथै भिरपाखा भएको कारण आगो नियन्त्रणमा लिन सम्भव भएन । आगोले कम्तीमा २५ सय रोपनी जंगल क्षेत्रमा क्षति पुर्याएको अनुमान गरिएको भेडेटा होटल एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दालीले जानकारी दिए । ‘बिहानैदेखि हामीले निक्कै प्रयास गर्यौं, तर नियन्त्रणमा आन सकेन । करिब २५ सय रोपनी क्षेत्रफलमा आगोले क्षति पुर्याएको छ,’उनले भने ।

jungle-fire2

आगो पुर्णरुपमा नियन्त्रणमा लिन सम्भव नभएपछि पाथीभारा मन्दिर र बजार क्षेत्रतर्फ आउन नसक्ने गरी फायर लाइन(अग्नी रेखा) बनाएर साँझ सबै जना घर फर्किएका छन् । भोली मंगलबार पुनः बिहानैदेखि आगो नियन्त्रणको लागि जाने पनि उनले जानकारी दिए । आगो नियन्त्रणको लागि सेनाको ११ जना, सशस्त्रका ११ जना, जनपद प्रहरीका ८ जनासहित करिब ६० जनाको टोली बिहानैदेखि खटिएका थिए । ‘राती फेरि सल्केला कि भन्ने डर छ,’रुम्दालीले भने ।

भेडेटारदेखि केही तल कल्बोटे भन्ने ठाउँबाट आगो आइतबार दिउँसो सल्किएको बताइएको छ । उक्त आगो रातभरिमा ठुलो क्षेत्रफलमा फैलिए पछि नियन्त्रणबाहिर हुन पुगेको हो । भिरपाखा पनि भएकोले दमकलमार्फत पानी हाल्न पनि सम्भावना नभएको रुम्दालीले बताए ।

jungle-fire1