धरान: धरानको १२ नम्बर वडा कार्यालयले आज साँझसम्म आफ्नो वडाका सबै विपन्न परिवारहरुलाई राहत वितरण गरिसक्ने जनाएको छ ।
वडाका कार्यवाहक अध्यक्ष ब्रह्मज्ञ भट्टराईका अनुसार वडामा संकलन भएको विपन्नको लागत अनुसार साँझसम्म सबैलाई राहत वितरण गर्ने लक्ष्य राखिएको छ । 'हाम्रो वडामा ३ सय ३३ विपन्न परिवारको लगत संकलन भएको थियो । ती मध्ये पनि सम्पर्कममा आएका २ सय ८० घर परिवारलाई साँझसम्म राहत वितरण गरिसक्नेछौ,'कार्यवाहक अध्यक्ष भट्टराईले भने,'बाँकी सम्पर्कमा आए उनीहरुलाई पनि राहत उपलव्ध गराउछौं ।'
उपमहानगरपालिकाले उपलव्ध गराएको राहत सामग्रीले मात्र नपुगेपछि वडा कार्यालयका जनप्रतिनिधिहरु आफैले पनि राहत संकलन गरेर वितरण गरेको वडा कार्यालयले जनाएको छ । वडाले राहत स्वरुप १० केजी चामल, १ केजी दाल, आधा लिटर तेल, १ केजी नुन, न्युटेला र १ थान हातधुने सावुन उपलव्ध गराएको छ । पहिलो चरणको राहत वितरण सकिए पछि लकडाउन बढदै गए पुनः विपन्न वडावासीहरुलाई दोस्रो चरणको पनि राहत वितरण गर्ने कार्यवाहक अध्यक्ष भट्टराइले बताए ।