विराटनगर: लकडाउनले देश र अन्तर्राष्ट्रिय सिमा समेत ठप्प भएको बेला पनि लागुऔषध तस्करहरु सक्रिय भएको पाइएको छ । तस्करहरुले सवारी पास लिएर नै लागुऔषध तस्करी गरिरहेको पनि खुलेको छ ।

प्रहरीले उत्तरी मोरङको बेलबारीबाट गएराती(मंगलबार) लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुले विभिन्न निकायको सवारी अनुमति पास नै लिएको पनि खुलेको छ । मोरङ प्रहरीका अनुसार सिराहको मिचैया ३ का २३ वर्षीय सन्तोष सिंह र २४ वर्षीय विजयकुमार मण्डल ब्राउन सुगरसहित पक्राउ परेका छन् । दुवैका साथबाट ३१ ग्राम ६९ मिलिग्राम ब्राउन सुगर वरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं एसपी विश्व अधिकारीले जानकारी दिए । विजयकुमारले जुत्ताभित्र मोजामा लुकाएको अवस्थामा ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीले लागुऔषधसहित पक्राउ परेका दुवैलाई भिडियो ‘कन्फेरेन्स’ मार्फत बुधबार सार्वजनिक गरेको थियो । प्रहरीका अनुसार दुवैले जिल्ला प्रशासन कार्यालय सिराहबाट औषधी ओसारपसार गर्ने सवारी पास लिएका थिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीले राती पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको थियो ।

उनीहरुले वडा कार्यालय र नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट पास लिएका थिए । दुवै प्रदेश नं. २–०१००१ प २६७२ नम्बरको मोटरसाइकलमा पुर्वबाट पश्चिमतर्फ जादै गरेका थिए । प्रारम्भिक वयानको क्रममा दुवैले दमकबाट ब्राउन सुगर ल्याएको वयान दिएको पनि प्रहरीले जनाएके छ । यसबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।