धरान: लकडाउनका कारण दैनिक गुजारा गर्न समस्या परेका विपन्न परिवारहरुलाई धरान उपमहानगरपालिका १८ न. वडा कार्यालयले दोस्रो पटक विहिवार राहत वितरण गरेको छ ।
१८ न. वडा कार्यालयले लगत संकलन भएका २ सय २३ घरपरिवारलाई विहिवार र शुक्रवार गरि दुई दिनमा राहत वितरण गरिसक्ने वडाध्यक्ष प्रविण राईले जानकारी दिए । पहिलो दिन देविथान, न्युरोड लाइन र शिवमार्गका वासिन्दालाई राहत विरतण गरिएको छ भने दोस्रो दिन रत्न चौक, विपि गेट र हङकङ रोडका वासिन्दालाई राहत वितरण गरिने वडाध्यक्ष राईले बताए । वडा कार्यालयले राहत स्वरुप १० केजी चामल, ४ केजी आलु, १ केजि नुन, १ लिटर तेल, १ केजी दाल र एक थान सावुन उपलव्ध गराएको छ ।
पहिलो चरणको राहत यसअघि वडा कार्यालय तथा वडाका जनप्रतिनिधिहरु आफैले राहत व्यवस्थापन गरेर वितरण गरेका थिए । त्यसबेला पहिलो चरणमा अति विपन्न १ सय ७२ परिवारलाई राहत वितरण गरिएको वडाअध्यक्ष राईले बताए । दोस्रो चरणमा भने उपमहानगरपालिकाको फुड बैंकबाट पाएको खाद्यान्न वितरण गरिएको हो हो । अतिविपन्न परिवारले पहिलो र दोस्रो चरणमा गरि दुई पटक राहत प्राप्त गर्ने वडध्यक्ष राईले जनाए । पहिलो चरणमा उनीहरुलाई राहत स्वरुप १० केजि चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नुन र ६ प्याकेट चाउचाउ प्रदान गरिएको थियो ।
व्यवस्थित राहत वितरण
धरान १८ न. वडा कार्यालयले व्यवस्थितरुपमा राहत वितरण गरको छ । १८ न. वडाले सम्वन्धित सरोकारवालाहरुमा राहत वितरण होस भनेर वडाध्यक्षको संयोजकत्वमा वडाका सामाजिक संघसंस्थाका पदाधिकारी र राजनितिक दलका प्रतिनिधि सहितको १३ सदस्यीय राहतकोष समितिको निर्माण गरि राहत वितरण कार्य गरेको हो । जसका कारण वडाका सवै क्षेत्रका लगत संकलन गर्न सजिलो भएको थियो । राहत कोषमा वडाध्यक्षले एक महिनाको तलव र चार जना जनप्रतिनिधिहरुले जनाहि दश हजार रुपैया जम्मा गरेका थिए ।
अति विपन्न परिवारहरुले पहिलो र दोस्रो चरण गरि दुई पटक राहत प्राप्त गर्नेछन् । वडा समितिले आफै व्यवस्थापन गरेर विपि हस्पिटलका कुरुवाहरुलाई समेत दैनिक ४ सय ५० जनालाई विहान वेलुकी खाना उपलव्ध गराइरहेको छ । धरानका विभिन्न सामाजिक संघसंस्थाहरु संग सहकार्य गरेर लकडाउन अवधिभर कुरुवाहरुलाई खाना खुवाउने वडाध्यक्ष प्रविण राईले जनाएको छ ।
यससंगै वडाको जोखिम क्षेत्रमा समितिले किटनाशक औषधी समेत छर्किएको छ । राहत वितरणको क्रममा समेत समितिले उच्च सर्तकताका साथ राहत वितरण गरिरहेको छ । राहत वितरणका लागि लगत संकलनकै क्रममा वडाले टोकन व्यवस्था गरेको थियो । जसका कारण राहत वितरणको क्रममा भिड कम भएको छ । राहत वितरण स्थलमा राहत लिन आउनेहरुलाई सेनिटाइजरले हात पुछ्ने व्यवस्था र मास्क र पञ्जा नलगाई आउनेहरुलाई वडाले नै मास्क र पन्जा उपलव्ध गराएको छ । वडा कार्यलयले आफ्नो वडा संगै धरान उपमहानगरपालिकाका अन्य वडाहरुमा समेत आवश्यक मास्क, पञ्जा र सेनिटाइजर उपलव्ध गराउदै आइरहेको छ ।