धरान: धरान उपमहानगरपालिकाले फुड बैंकमार्फत सबै वडा कार्यालयहरुमा विपन्न परिवारको लागि पहिलो चरणको राहत वितरण गरिसकेको छ । तर, धरान वडा नं ८ मा भने अझै पनि सबैले राहत पाइसकेका छैनन् ।

उपमहानगरबाट नै लगत संकलन भएकाहरु सबैको लागि राहत पुगेको छैन । वडाअध्यक्ष रुद्रबहादुर लिम्बुका अनुसार फुड बैंकबाट दुई पटक गरि एक हजार ७८ परिवारको लागि राहत प्राप्त भएको छ । शनिबार दोस्रो पटक १० किलो चामलको दरले टोल विकास संस्थाहरुमार्फत राहत वितरण भयो । तर, अझै ३ सय विपन्न परिवार थपिएका छन् । उनीहरुको लागि राहत आउन बाँकी छ ।

पहिलो लटमा पनि फुड बैंकबाट राहत कम आएपछि वडाले राहत संकलन गरेर पनि वितरण गर्नुपरेको थियो । त्यसले पनि नपुगेपछि वडा कार्यालयले ऋणमा ल्याएर वितरण गर्नुपरेको अध्यक्ष लिम्बुले जानकारी दिए । ‘पहिलो लटमा राहत कम दिएकोले गाउँमा राहत संकलन गर्यौं । त्यसले पनि पुगेन, र ऋणमा काम गरेका छौं,’अध्यक्ष लिम्बुले भने ।

अध्यक्ष लिम्बुका अनुसार वडामा रात वितरणको लागि लगत संकलन गर्न टोल विकास संस्थाहरुलाई जिम्मा दिइएको छ । टोल विकास संस्थाले आफ्नो टोलमा राहत लगेपछि वडा कार्यालयसँग समन्वय गरेर वितरण गरिन्छ । यस्तै, वडा कार्यालयले राहत संकलन गर्न पहल गर्छ भने खाद्यान्नको गुणस्तर जाँच गर्न र वितरण अनुगमन गर्न राजनीतिक दलहरुसहितको समिति गठन गरिएको छ ।

wada-8 wada-8-rahat wada-8-rahat1 wada-8-rahat3 wada-8-rahat4