धरानः लकडाउनको बेला धरानको बजर सुनसान छ, तर यही मौकामा जंगलमा भने मानिसहरुको चहलपलह हुन्छ ।

लकडाउनले वन समुहका पदाधिकारीहरु घरभित्रै सिमित भएको र सुरक्षाकर्मीहरुको ध्यान पनि लकडाउनतर्फ मोडिएको मौकामा धरानका सामुदायिक वन क्षेत्रमा व्यापक फडानी भएको पाइएको छ । बिशेष गरि लाथ्राहरु जथाभावी काटिएका छन् । यही समय वन्यजन्तुको शिकार गर्नेहरु पनि जंगलमा पसेका छन् ।

धरानको वडा नं १५ स्थित बाँझगरा सामुदायिक वन समुहका उपाध्यक्ष कुमार भारतीका अनुसार एकै दिन सय जना भन्दा बढी समुहमा मानिसहरु जंगल पस्ने गरेको पाइएको छ । अहिलेसम्म संरक्षण भइरहेको लाथ्रा जथाभावी काटेर ठुलो नोक्सानी पुर्याइरहेको उपाध्यक्ष भारतीले बताए । ‘लकडाउनले बजार सुनसान छ, तर डेढ दुई सय मानिसहरु जंगलतिर पस्दो रहेछ,’उनले भने,‘यही अवस्था रहीरह्यो भने जंगल सखाप हुन्छ ।’ jungle2

वन समुह, प्रहरी र सशस्त्र वन रक्षकहरु गस्ती गर्दै ।

लकडाउनको समयमा पनि मानिसहरु जंगल पस्छन् भनेर वन समुहले अनुमान नै लगाउन नसक्दा धेरै क्षति भएको हो । बाँझगरा वन समुहसँगै धरान ५ स्थित बालऋर्षि सामुदायिक वन, धरान ६ स्थित पानवारी सामुदायिक वन, धरान १७ स्थित उदय सामुदायिक वन, धरान २० कार्कीछाप, धरान ४ को सर्दु जलाधार क्षेत्रलगायत थुप्रै वन क्षेत्रमा दिउँसो र राती पनि वन फडानी र वन्यजन्तुको शिकार हुने गरेको छ । पाँचकन्या सब डिभिजन कार्यालयका रेञ्जन इश्वरी बास्तोला लकडाउनको मौकामा ७ बर्षदेखि ७० बर्षसम्मका वृद्ध पनि जंगलमा भेटिएका छन् । पाँचकन्या र विष्णुपादुका सब डिभिजन कार्यालय अन्र्तगत २ दर्जन बढी सामुदायिक वन समुह छ । तर, यी सबैको लागि मात्र ४ जना सशस्त्र वन रक्षक छन् । एउटा पुरानो गाडी छ । सकेसम्म वन जोगाउन दिनरात खटिएको रेञ्जर बास्तोलाले बताए ।

केही दिनअघि बाँझगरा, पानवारी र बालऋर्षि वन समुहको ११ सदस्यीय संयुक्त वन संरुक्षण टोली आइतबार गठन भएको छ । यो टोलीले बिहान ५ बजेदेखि राती ९ बजेसम्म समय मिलाएर गस्ती गर्ने र कसैलाई पनि जंगल प्रवेश गर्न नदिने गरि खटिएको बास्तोलाले बताए । सशस्त्र प्रहरीले धरान ४, १३ र २० नम्बर वडामा पर्ने जलाधार क्षेत्रमा रुख जथाभावी काट्ने दुई दर्जन बढीलाई नियन्त्रणमा लिएको थियो ।