धरान: लकडाउनको मौका पारेर धरानको दक्षिणी जंगलमा वन्यजन्तुको शिकार गर्नेहरु सक्रिय भएका छन् ।
लकडाउनले सामुदायिक वनका पदाधिकारीहरु घरमै सिमित भएको मौका पारेर शिकारीहरु सक्रिय भएका हुन् । वन समुहका पदाधिकारीहरु शिकारीहरुसँग हतियार हुने भएकोले एक दुई जनाले मात्र नियन्त्रण गर्न सम्भव नहुने बताउँछन् । अहिले लकडाउनको कारण समुह बनाएर वनमा गस्ती गर्न नसकिने भएकोले पनि समस्या भएको बाँझगरा वन समुहका उपाध्यक्ष कुमार भारतीले बताए । ‘हामीसँग हतियार हुदैन, शिकारीहरु बन्दुकसहित ४, ५ जनाको संख्यामा हुन्छन् । हामी सुरक्षित नै हुदैनौ,’भारतीले भने,‘अहिले लकडाउनको कारण हिडडुल गर्न पनि समस्या भयो ।’
शिकारीहरुले वन्यजन्तुको शिकार मात्र गर्दैनन्, वनमा डढेलो पनि लगाउछन् । वन्यजन्तुलाई परैबाट देख्न सकियोस्, र शिकार खेल्न सजिलो होस् भनेर शिकारीहरुले वनमा डढेलो लगाउने गरेका छन् । वनमा वन्यजन्तुको शिकार भइरहेको बारेमा वन कार्यालय पनि जानकार छ । तर, आवश्यक स्रोत साधन र जनशक्तिको अभावले भनेजस्तो प्रभावकारीरुपमा काम गर्न सकिरहेको छैन । एउटा पुरानो गाडीको भरमा गस्ती गर्नुपर्ने बाध्यता छ । सशस्त्र वन रक्षक पनि मात्र थोरै संख्यामा मात्र छ ।
पाँचकन्या सब डिभिजन वन कार्यालय धरानका रेञ्जर इश्वरी बास्तोलाका अनुसार एक साता अघि २ नाल बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने धरान १५ का निमा तामाङ हुन् । उनलाई प्रहरीले कानुनी कारबाही गर्न इलाका प्रहरी कार्यालयमा बुझाइएको छ । हातहतियार तथा खरखजना मुद्दा सकेपछि वन्यजन्तु संरक्षण ऐनअन्र्तगत पुनः मुद्दा चलाउन वनलाई बुझाउने गरि प्रहरीलाई जिम्मा लगाएको बास्तोलाले बताए । ‘हामीले सकेसम्म चोरी तस्करी नियन्त्रणको प्रयास गरिनै रहेका छौं,’उनले भने,‘लकडाउनले शिकारीहरु सलबलाएको अवस्था छ । मेरो यत्रो जागिरको अनुभवमा अहिले जस्तो कामको चाप कहिल्यै भएको थिएन ।’ वन फडानी र शिकार गर्नेहरु सक्रिय भएपछि सामुदायिक वनका पदाधिकारीहरुको संयुक्त टोली गठन गरेर वनमा खटाइएको पनि बास्तोलाले बताए । इलाका प्रहरी कार्यालय धरानले वनले कारबाहीको लागि हतियारसहित बुझाएका व्यक्तिबारे आवश्यक कानुनी कारबाही भइरहेको जनाएको छ ।