धरान: लकडाउनको बेला तास खेलिरहेका महिलासहित ८ जनालाई प्रहरीले धरान १६ स्थित एक घरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पाँच महिला र तीन पुरुष छन् । उनीहरुलाई धरान १६ स्थित वृहस्पति मार्गको एक घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसबेला ती व्यक्तिहरु जुटपत्ती खेलिरहेका थिए । स्थानीयबासी सुचना दिएको आधारमा प्रहरीले उक्त घरबाट उनीहरुलाई हिजो नियन्त्रणमा लिएको थियो । उनीहरु पक्राउ परेको पुष्टि १६ नम्बर वडाका सदस्य दिपक आचार्यले गरे । उनले भने,‘उहाँहरु छरछिमेकीहरु नै हुन्, सामान्यरुपमा टाइम पास गर्न तास खेलेको बेला पक्राउ परेको हो ।’

प्रहरीलाई खबर गर्ने स्थानीय व्यक्तिहरुले भने उक्त घरमा पहिलादेखि नै तास खेलिरहेको दाबी गरेका छन् । पटक पटक सुचना दिएपछि मात्र प्रहरीले पक्राउ गरेको उनीहरुको भनाई छ । पक्राउ पर्नेहरुको एउटा बुलेट मोटरसाइकल पनि भएको स्थानीयले बताए । इलाका प्रहरी कार्यालयले भने ठुलो खाल नभै सामान्यरुपमा तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको बताएको छ । उनीहरुबाट मात्र ८ हजार वरामद भएको छ । ‘लकडाउनको बेला एकै ठाउँमा बसेर तास खेलिरहेको पायौं, र नियन्त्रणमा लिएका छौं,’प्रहरी निरीक्षक हेमराज ओलीले भने,‘एक रात राखेका छौं, उनीहरुलाई के गर्ने भनेर आज निर्णय हुन्छ ।’