धरान: भारतको कलकताबाट आएर क्वारेन्टाइन बसिसकेका र कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको ११ जनालाई थप एक साता धरान ३ स्थित मञ्जिदमा राखिने भएको छ ।

उनीहरु कलकत्ताबाट फर्कदा नै मोरङको कटहरीमा करिब ३ साता बिताइसकेका थिए । पछि, थप १४ दिन प्रदेश सरकारले मोरङकै टाँडीमा स्थापना गरेको क्वारेन्टाइनमा पनि बसेका थिए । सबैको परीक्षण गर्दा नेगेटिभ आएको र १४ दिन क्वारेन्टाइनमा बिताइसकेको हुनाले उनीहरु उपमहानगरपालिकासँग समन्वय गरेर धरान आएका थिए । उनीहरु सबै धरानका हुन् । परीक्षण रिपोर्ट नेगेटिभ आएको र क्वारेन्टाइन समय बिताए पनि उनीहरुलाई धरानमा थप एक साता मस्जिदमा राखिने भएको हो । सामान्यतः कोरोना भाइरसको संक्रमण १४ दिनभित्र देखिने विज्ञहरुको भनाई छ । 

धरानमा मेयर तिलक राईले क्वारेन्टाइन समय बिताएको र स्वास्थ्य परीक्षण पनि नेगेटिभ आएकोले कुनै जोखिम नभएपनि नगरबासीहरुलाई आश्वस्त पार्नको लागि थप एक साता क्वारेन्टाइनमा राखिएको बताए । साथै उनले सबैलाई सहयोग गर्न पनि आग्रह गरे । ‘एक साता मस्जिदमा बसिसके पछि उहाँहरुलाई घर घरमा लैजाने वातावरण तयार गछौं, त्यसको लागि सबैले सहयोग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छौं,’मेयर राईले भने ।

अञ्जुमन इस्लामियाका सचिव अफाक अहमदले धरानका एघार युवाहरु धार्मिक यात्रामा कलकत्ता गएको र फर्कने क्रममा ३० दिन अघि मोरङको कटहरीमा फस्न पुगेको बताए । त्यहाँ मस्जिदमा फसेकाहरुलाई प्रशासनको सहयोगमा टाँडी क्वारेन्टाइनमा लगिएको र १४ दिन बसिसकेर कोरोना टेष्ट पनि नेगेटिभ आएकोले धरान आएको सचिव अहमदले जानकारी दिए । ‘क्वारेन्टाइनमा बसेर १४ दिन बितेपछि परीक्षण गर्दा पनि नेगेटिभ आएकोले आज नगरपालिकासँग समन्वय गरेर धरान ल्याइयो, र कसरी घर लैजाने भनेर समन्वय गर्दा अझै एक हप्ता मस्जिदमा राख्ने र त्यसपछि व्यवस्थापन गर्ने भनेअनुसार राखेका छौं,’उनले भने । masjid-dharan