धरान: धरान ६ पानवारीमा भिड व्यवस्थापन गर्ने क्रममा हिजो बिहिबार प्रहरीद्वारा हेल्थ असिस्टेष्टलाई कुटपिट भएको घटनामा दुवै पक्षबीच सहमति भएको छ ।

अहिलेको बिषम परिस्थितिमा दुवै पक्ष फ्रन्टलाइनमा काम गर्ने भएकोले एकअर्काको कमीकमजोरी स्वीकार गर्दै अघि बढ्ने सहमति भएको हो । आज दिउँसो धरान उपमहानगरपालिकामा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेसहितको उपस्थितिमा भएको छलफलमा सहमति भएको हो । उक्त छलफलमा कुटाइ खाएका हेल्थ असिस्टेष्ट चन्द्रप्रकाश खनाल र पानवारी चौकीका इञ्चार्ज बिबि राउत पनि उपस्थित थिए ।

छलफलमा कर्तव्य पालनाको क्रममा मानवीय त्रुटी हुनसक्ने भएकोले घटनाप्रति चौकीका इञ्चार्ज राउतले माफी मागेका थिए । ‘यो घटना सुनियोजित वा नियतवश भएको होइन, कर्तव्यपरायणको क्रममा मानवीय त्रुटी हुनसक्छ, र सई सापले पनि आफ्नो तर्फबाट घटनाप्रति माफी मागेपछि समझदारी, सहमतिमै टुंगियो,’मेयर राईले भने,‘अहिलेको परिस्थितिमा सहकार्य गरेर जानुपर्छ, प्रहरीले स्वास्थ्यकर्मीहरुको कार्ड भएपछि कही कतै नरोक्ने भन्ने सहमति भएको छ ।’

बिहिबार बिहान पानवारीमा स्थानीय एक सहकारीले किसानलाई मल वितरण गर्दा भिड जम्मा भएपछि प्रहरीले व्यवस्थापन गर्ने क्रममा वल प्रयोग गरेको थियो । त्यही क्रममा हेल्थ असिस्टेष्ट पनि कुटिएका थिए । प्रहरीले यो घटना नियतवश नभै भिड नियन्त्रणको क्रममा हुन पुगेको जनाएको थियो । उपमहागनरपालिका मातहतका स्वास्थ्यकर्मीहरुले घटनाको विरोध जनाएका थिए । उनीहरु उपमहानगरमा जम्मा भएर लिखितरुपमा नै सुरक्षा र सहजरुपमा काम गर्ने वातावरण हुनुपर्ने माग गरेका थिए ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी न्यौपानेले बिषय परिस्थितिमा फ्रन्टलाइनमा बसेर काम गर्नुपर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबीच सहकार्य गर्ने साथै मिलेर यो समस्याको सामना गर्ने समझदारी भएको बताए । ‘कमीकमजोरी सुधार्दै जाने र अहिलेको बिषम पस्थितिमा सहकार्य गर्ने, मिलेर सामाना गर्ने कुरा भयो,’डिएसपी न्यौपानेले भने,‘स्वास्थ्यकर्मीहरुलाई परिचयपत्रको आधारमा निर्वाध हिड्न पाउनुहुन्छ ।’

खनालको स्वास्थ्य परीक्षण

बिहिबार कुटाई खाएको भनिएका हेल्थ असिस्टेष्ट खनालको आज स्वास्थ्य परीक्षण गरिएको छ । जिउ आज दुःख्न थालेको कारण जाँच गराइएको उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ‘घटना हिजोको हो, उहाँलाई आज घाउ दुखेको कारण वीपीमा जाँच गराउन आएका छौं,’उनले भने,‘घाउ पोल्दैछ रे ।’ खनाललाई ढाडमा चोट लागेको छ ।