धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कोरोना आफै नसर्ने तर संक्रमित व्यक्तिहरुबाट सर्ने भएकोले छरछिमेक, टोल एवं वस्तीमा शंकास्पद व्यक्ति आए तत्काल खबर गर्न अपिल गरेका छन् ।
मेयर राईले आज नगरबासीहरुको नाममा अपिल गर्दै शंकास्पद व्यक्ति आएमा तत्काल उपमहानगरपालिकामा वा सुरक्षाकर्मीहरुमा खबर गरि आफ्नो र अरुको जिवनसमेत बचाउन महत्वपुर्ण भुमिका खेल्न आग्रह गरेका छन् । कोरोना भाइरसले धनी, गरिब नहेर्ने तथा देश, समाज, जात, लिंग, धर्म केही पनि नहेर्ने प्रमाणित भइसकेकोले कुनै जाति, धर्म, वर्ण वा सम्प्रदायप्रति द्धेषपुर्ण भाव नराख्न पनि मेयर राईले आग्रह गरेका छन् ।
साथै, उनले विभिन्न समुदायलाई जोडेर अर्नगल प्रचार भइरहेको प्रति पनि उनले आफ्नो ध्यानाकृष्ट भएको संकेत गरेका छन् । अपिलमा उनले भनेका छन्,'यस्तो अवस्थामा सबैले संयमित र एकजुट भै कोरोना भाइरस रोकथाममा लाग्न जरुरी भएकोले एक अर्कामा दोषारोपण नगरी सबै जातजाति, भाषाभाषी र धर्मावलम्बी नगरबासीहरु एकजुट भै सरकारले घोषणा गरेको लकडाउनलाई सकरात्मकरुपमा पालना गरी यो संक्रमण फैलन नदिन हार्दिक अपिल गर्दछुँ ।' आफु बच्न र अरुलाई पनि बचाउन बन्दाबन्दी(लकडाउन)लाई स्वयम व्यक्ति आफैले पालना गर्न मेयर राईले आग्रह गरेका छन् ।