धरान: लकडाउनको अत्यधिक उल्लंघन भएपछि धरान १६ जोरसखुवाका स्थानीय आफैले हातमा लाठी बोकेर गस्ती गर्न थालेका छन् ।

धरानमै सबैभन्दा बढी लकडाउन उल्लंघन हुने ठाउँकोरुपमा परिचित हुदै गएपछि जोरसखुवा टोल विकास संस्था(टिएलओ)को नेतृत्वमा स्थानीयले यसरी गस्ती थालेका हुन् । टिएलओले गस्ती शुरु गरेर लकडाउन पालना गराउनुअघि यो क्षेत्रमा चौबिसै घण्टा जसो पसलहरु खुल्ला रहन्थे भने विभिन्न वडा एवं टोलबाट मानिसहरु पनि यहाँ किनमेल गर्न, घुम्न आउने गर्थे । सर्दु खोलामा झोलुङ्गे पुल पनि निर्माण भएकोले यो ठाउँ घुम्न आउनेहरुको आकर्षणको केन्द्र बनेको थियो ।

jor

बाहिरका मानिसहरु आउदा कोरोना भाइरसको जोखिम भएकोले सम्झाउदा पनि नमाने पछि टिएलओको नेतृत्वमा गस्ती शुरु गर्नुपरेको अध्यक्ष हिमाल कार्कीले जानकारी दिए । उनका अनुसार विगतमा प्रहरी आउदा मात्र पसल बन्द गर्थे । ‘झेलुंगे पुल छ, त्यहाँ घुम्न आउनेहरुको भिड लाग्थ्यो । इभिनिङ र मर्निङ वाक गर्नेहरु पनि यही आउथे,’अध्यक्ष कार्कीले भने,‘दोकानहरु पनि पुलिस आउदा मात्र बन्द हुने, नत्र चौबिसै घण्टा खुल्थ्यो । त्यसैले हामी आफैले केही गर्नुपर्छ भनेर लकडाउन पालना गराउन गस्ती थालेका हौं ।’

jor-sakhuwa

गस्ती टोलीले बिहान, दिउँसो र बेलुका गरी तीन समय गस्ती गर्ने गरेको छ । गस्ती शुरु भएपछि लकडाउन पुर्णरुपमा पालना भएको छ भने बाहिरका मानिसहरु पनि आउन छोडेका छन् । गस्तीमा पास विनाको गाडी भेटिएमा अबदेखि यता नआउन भनेर सम्झाउदै पठाउने गरिएको छ । पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म आवश्यक सामानहरु किनमेल गर्न खुल्ला रहन्छ भने दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म खुला रहन्छ । ‘हामीले जनचेतनाको हिसाबले गस्ती थालेका हौं, गस्ती गर्दा मास्क लगाएका छैनन् भने मास्क पनि दिन्छौं,’अध्यक्ष कार्कीले भने,‘अहिले लकडाउन पुर्णपालना भएको छ ।’

jor-sakhu