बिराटनगर: प्रदेश १ का विभिन्न स्थानमा बर्षासंगै परेको चट्याङले लागेर ५ जना मानिस घाईते भएका छन् भने केही चौपायाको मृत्यु भएको छ ।
उदयपुरको कटारी नगरपालिका ११ बेतीनीका ५५ बर्षीय चन्द्र बहादुर मगरको घरमा गए राती साढे ११ बजे चट्याङ परेको थियो । चट्याङले लागेर मगरसहित उनको श्रीमती ४८ बर्षीया मन कुमारी मगर, आमा ७० बर्षीया मन माया मगर र छिमेकी सुमन मगर सामान्य घाईते भएका छन् । उक्त चट्याङले लागेर मगरको गोठमा बाधी राँखेको एउटा बाख्रा समेत समेत मरेको छ ।
यसैगरी, सोही नगरपालिका ६ रिस्कुमा पनि चट्याङ पर्दा स्थानीय मेनुका राईको १२ बर्षीय छोरा अस्मान राई सामान्य घाईते भएका छन् । उक्त चट्याङले लागेर छिमेकी खुम बहादुर राईको खोरमा रहेका ३ वटा सुंगुर र धन कुमारी राईको खोरमा रहेका २ वटा सुँगुर मरेका छन् । यस्तै, ईलामको फाकफपोकथुम गाउँपालिका २ कालबोटेका ईन्द्र बहादुर चौहानको गोठमा पनि राती १ बजे चट्याङ पर्दा एउटा भैसी मरेको बताईएको छ भने ताप्लेजुङको त्रिवेणी गाउँपालिका २ फुलवारीका हरिलाल पाठकको घरमा चट्याङ लागेर घरको गाह्रो चर्काएको र सोलार प्यानलमा क्षति भएको छ ।