धरान: धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पिसिआर परीक्षण गर्दा पोजेटिभ आएका तीन जना पनि उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका जमातीहरु भएको खुलेको छ ।

संक्रमित तीन मध्ये दुई जना विराटनगरका हुन् भने एक जना भारतको दिल्लीका हुन् । उनीहरु पनि उदयपुरको भुल्केस्थित मस्जिदमै भेटिएका १६ जना जमातीमध्येका हुन् । योसँगै मस्जिदमा भेटिएका सबै १६ जना जमातीहरु कोरोना संक्रमित भएको पुष्टि भएको छ । मस्जिदमा रहेका १६ जना मध्ये ४ जना नेपाली हुन् । स्वास्थ्य मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा आज वीपी प्रतिष्ठानमा गरिएको परीक्षणमा ३ जना संक्रमित थपिएको जानकारी दिएको थियो । संक्रमित तीन जना मध्ये २४ बर्षीय दिल्लीका हुन् भने ६० र ७२ बर्षका व्यक्ति विराटनगरका हुन् ।

उदयपुरको भुल्केमा मात्र कोरोना संक्रमितको संख्या २७ जना पुगेको छ । हिजो वीपीमा गरिएको क्रसचेक परीक्षणमा पनि ८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । हिजो नै काठमाण्डौंमा गरिएको परीक्षणमा भुल्केका ३ जना संक्रमित भएको खुलेको थियो भने यसअघि मस्जिदमा रहेका १३ जना जमातीमा पनि संक्रमण देखिएको थियो ।