इटहरीः विभिन्न स्थानबाट आएका र इटहरीमा रहेर अलपत्र रहेका भोजपुरवासीलाई विभिन्न पालिकाले उद्दार गरेका छन् ।
भोजपुर नगरपालिका र अरुण गाउँपालिकाले करिव ८० सर्वसाधारणलाई शनिवार राति दुुई वटा बसमार्फत इटहरीबाट भोजपुर लगेका हुन् । यसरी जानेमा काठमाण्डौबाट आएका केही व्यक्ति छन् भने इटहरीमा व्यापार गर्ने र पढाइ गर्ने लगायतका व्यक्तिहरु छन् । ‘कहिले लकडाउन खुल्ला र गाउँ जाउँला भनेर दिन गनेर बस्दाबस्दै खुल्ने सम्भावना रहेन,’भोजपुर ३ का विक्रम श्रेष्ठले भने,‘हाम्रो अवस्था थाहा पाएर नगरपालिकाले गाडी पठाइ दिएको छ, हामी एकदमै खुसि छौँ ।’
विपत्तिको बेला परिवारका आफन्तसँग बस्न पाए हुन्थ्या भनेर लागेरै आफ्नो उद्धारका लागि जनप्रतिनिधिसँग पहल गरिएको श्रेष्ठले बताए । इटहरीमा अलपत्र परेको खबर जनप्रतिनिधिले पाएपछि प्रशासनसँग समन्वय गरेर दुुई वटा बस इटहरी पठाइएको हो । लकडाउन हुनु केही दिनअघि आफ्नो कामले इटहरी झरेका भोजपुरका गोपाल बर्देवा पनि समस्यामा थिए । कसरी घर जाने भनेर अन्यौल रहेकै बेला पालिकाले सुचना जारी गरेपछि उनि जस्ता दर्जनौँ व्यक्ति घर जान शनिवार साँझ इटहरीको गोरखा डिपार्टमेन्टको अगाडी भेटिएका थिए ।
इटहरीमा समस्यामा परेका वालवालिका, सुत्केरी महिला, बृद्धबृद्धाहरुलाई नगरपालिकाले पठाएको बसले ठुलो उद्दार भएको उनिहरुको भनाई छ । ‘कति फ्याक्ट्रीमा काम गर्नेछन्, बाहिरबाट आएर विजोक भएका झन् धेरै थिए,’वर्देवाले भने,‘पालिकाहरुले दुइै बस पठाएर हामीलाई घर पठाउने व्यवस्था गरेको छ ,यो हाम्रा लागि ठुलो उपकार हो ।’ अरुण गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर कार्कीले आफ्नो पालिकाका जो कोही नागरिक अलपत्र परेको खबर पाउनसाथ उद्दारमा जुुट्ने गरेको बताए । यसरी पालिका पुुर्याइएका नागरिकको उचित स्वास्थ्य परिक्षण गरेर मात्र घर पठाउने गरिएको कार्कीले जानकारी दिए ।