सुनसरीः जिल्ला प्रशासन सुनसरीले भारतीय सीमानालाई कडाइ पार्दै थप सुरक्षा बढाएको छ ।

प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार सुरक्षाकर्मी थप गरि भारतसँगको सीमाको सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको छ । प्रजिज पौडेलले भारतसँगको जिल्लाको करिव ६२ किलोमिटरको खुल्ला सीमानामा सशस्त्रका ७९ विओपी प्वाइन्ट र नेपाल प्रहरीका २ सय ३१ सुरक्षाकर्मीले निरन्तर निगरानी बढाइरहेका छन् । सशस्त्र प्रहरी बलको ९ ओटा स्थायी विओपी रहेकोमा १५ अस्थायी विओपी थप गरिएको छ । अहिले जम्मा १७ विओपीबाट ७९ प्वाइन्टमा सशस्त्रको निरन्तर निगरानी रहेको छ । त्यसैगरी, नेपाल प्रहरीको १ सय १५ जनशक्तिले सुरक्षा दिँदै आएको थप १ सय १६ जनशक्ति थप गरिएको छ ।

विरगंज, उदयपुर, झापा र भोजपुरका कोरोना भाइरस संक्रमितसँग सुनसरीसँगको सम्बन्ध समेत जोडिएपछि जिल्लाले थप सतर्कता अपनाएको छ । संक्रमितसँग सम्पर्कमा रहेको इटहरी, धरान, चतरा र दक्षिणी सुनसरीका विभिन्न मस्जिदमा रहेको व्यक्तिको ट्रेसिङ गरिएको छ भने स्वाब संकलन गरि धरानको विपी प्रतिष्ठानमा भएको पिसिआर ल्याबमा परिक्षणका लागि पठाएको छ । यस्तै, बढ्दो कोरोना जोखिमलाई कम गर्न जिल्लाका ७४ मस्जिदमा उच्च सुरक्षा निगरानी बढाइएको प्रजिअ पौडेलले जानकारी दिएका छन् ।

cdo

छिमेकी जिल्लामा बढेको कोरोना संक्रमणको दरलाई मध्यनगर गर्दै जिल्ला भित्र औषधी पसलबाहेक कुनै पनि बजार पसल संचालन नगर्न प्रशासनले सुचना जारी गरेको छ । ‘सुरक्षा संवेदनशीलतालाई मध्य नजर गरेर नै हामीले लकडाउनलाई थप कडाइ बनाएका हौं,’प्रजिअ पौडेलले भने,‘छिमेकी जिल्लाको अवस्थालाई मध्यनगर गर्दै कडाइ या खुकुलो पार्ने बारे निर्णय लिन्छौँ ।’

जिल्लाका ७४ मस्जिदमा निगरानी बढाउन धार्मिक गुरुहरुसँग समन्वय गरिएको छ । त्यसै गरि स्थानीय तहमा रहेका जनप्रतिनिधिसँग सहकार्य गरि अपरिचित व्यक्तिको निगरानी बढाउने र भेटिए क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ । हाल कुनै पनि मस्जित र मदरसामा अपरिचित व्यक्ति नरहेको पौडेलको भनाई छ । कुनै पनि बहानामा भारतीय सीमानाबाट नेपाल आउन सक्ने सम्भावना रहेको छैन । दशगजामा कडा निगरानी गरिएको छ । हालसम्म दशगजामा पक्राउ गरिएको १७ भारतीय नागरिकलाई पक्राउ गरि क्वारेन्टाइनमा राखिएको छ ।