सुनसरी: इटहरी उपमहानगरमा दोश्रो चरणको राहत वितरण सुरु गरिएको छ ।
वडा वडामा राहत पाउने ब्यक्तिहरुको नामावली संकलन गरेर त्यसैको आधारमा राहत वितरण सुरु गरिएको उपमहानगरले जनाएको छ । दिनभरी काम गरेर विहान वेलुकाको गर्जो टार्नुपर्ने विपन्न वर्गलाई राहत वितरण गरिने उपमहानगरको भनाई छ । संघीय सरकारले तयार गरेको मापदण्ड वमोजिमका ब्यक्तिहरुलाई राहत वितरण थालिएको हो ।
परिवारमा दुई भन्दा वढि संख्या हुनेलाई २० केजी चामल, दुई केजी दाल, डेढ लिटर तेल, एक केजी नुन र दुई वटा सावुन दिइने छ । दुई जनासम्म भएकालाई १० केजी चामल, एक केजी दाल, आधा लिटर तेल, एक केजी नुन र एक थान सावुन वितरण गरिने इटहरीको भनाई छ । केही वडाहरुले मापदण्डमा परेका ब्यक्तिहरुलाई कुपन वितरण गरेर त्यहि कुपनका आधारमा राहत वितरण गर्दैछन । यसअघि पहिलो चरणमा इटहरीमा २१ हजार वढिलाई राहत वितरण गरिएको छ । वन्दवन्दीको समयमा विपन्न वर्गका जनताले भोकभोकै वस्नु नपरोस भनेर उपमहानगरले राहत वितरण गरेको हो ।