बिराटनगर: संखुवासभा र धनकुटाको २ स्थानमा पानीमा डुबेर १ बालिका सहित २ जनाको मृत्यु भएको छ ।

हिजो आईतवार दिउँसो २ बजे संखुवासभाको सभापोखरी गाउँपालिका २ की ३२ बर्षीया चन्द्र कुमारी राई पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको थियो । उनी सभापोखरी गाउँपालिका १ को सादीबेसीमा रहेको दिब्यश्वरी हाईड्रो पावरको पानी जमाउने पोखरीमा डुबिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यसैगरी, धनकुटा नगरपालिका १ जौटारका राजिव तितुङको १८ महिनाकी छोरी सिर्जना तितुङको आफ्नै घरमा रहेको पानीको ड्रममा डुबेर मृत्यु भएको छ । आईतवार अपरान्ह ५ बजेको समयमा बालिका पानीको ड्रममा डुबेर मृत अवस्थामा भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालय धनकुटाले शव परिक्षणको लागी जिल्ला अस्पताल धनकुटा पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।