धरान: नेपाल पत्रकार महांसघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले आफ्नो स्वर्गीय बुबाको पुण्य तिथिमा धरानमा सडकबाट उद्दार गरिएका मानिसहरुको लागि आर्थिक सहयोग गरेका छन् ।
पत्रकार काफ्लेले सडक मानिसहरुको लागि आज बिहिबार साँझको एक छाक खाना खुवाउनको लागि आर्थिक सहयोग गरेका हुन् । उनका बुबा पण्डित लेखनाथ काफ्लेको २०५७ सालमा निधन भएको थियो । आफ्ना स्वर्गीय बुबाको २१ औं पुष्य तिथिको अवसरमा सडकबाट उद्दार गरिएका मानिसहरुलाई खाना खुवाउन सहयोग गरेको पत्रकार काफ्लेले बताए । उनले नगद ५ हजार प्रदान गरेका छन् । “पिताको २१ औ पुण्य तिथिमा खाना खुवाउने व्यवस्थाको लागि आज हामीले सहयोग गरेका हौं,”महासंघका उपाध्यक्ष काफ्लेले भने ।
पत्रकार काफ्लेले दिएको रकमले धरान उपमहानगरपालिकाले सकडबाट उद्दार गरेर धरान ८ स्थित लांघाली सामुदायिक वनको आवास गृहमा राखिएका मानिसहरुलाई आज साँझको एक छाक खाना खुवाइने भएको छ । उक्त आवास गृहमा हाल ९५ जना सडक मानवहरु रहेका छन् । सहयोग रकम आज दिउँसो स्वर्गीय पण्डित काफ्लेका बुहारी तथा पत्रकार काफ्लेका धर्मपत्नी गीता आचार्यले लांघाली आवास गृहमा पुगेर हस्तान्तरण गरेकी थिइन् । उनले उपमहानगरपालिकाकी कर्मचारी तथा व्यवस्थापन समितिकी सचिव जुनु राईलाई हस्तान्तरण गरेकी थिइन् ।