काठमाडौँः आफ्नै संगठनका पुर्व आइजिपी सर्वेन्द्र खनाल, नेकपाका दुई सांसदसहित ४ जना विरुद्ध प्रहरीले अपहाण तथा शरीर बन्धक अभियोगमा उजुरी दर्ता गरेको छ ।

सरकारी वकिल कार्यालयमा दर्ता भएको मुद्दा अनुसन्धान गर्न पठाए पछि काठमाण्डौं प्रहरीले शुक्रबार उजुरी दर्ता गरेको हो । पुर्वआइजिपी खनालसँगै नेकपाका सांसद एवं पुर्वमन्त्री महेश बस्नेत, सांसद कृष्णकुमार श्रेष्ठ(किसान) र नविन बस्नेत विरुद्ध उजुरी दर्ता भएको हो । उनीहरुले समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यावदलाई जनकपुरबाट जर्बजस्ती अपहरण गरी काठमाण्डौं ल्याएको अभियोग छ ।

यसअघि भने प्रहरीले उजुरी दर्ता गर्न मानेको थिएन । त्यसपछि, पार्टी नेतृत्वसहित यादवले सरकारी वकिलको कार्यालय र राष्ट्रिय मानवअधिकार आयोगमा पनि उजुरी दिएका थिए । एसएसपी श्यामलाल ज्ञवालीले पूर्वआइजीपी खनालसहित चारजना विरुद्ध अपहरण तथा शरीर बन्धक अभियोगमा मुद्दा दर्ता भएर अनुसन्धान अघि बढेको जानकारी दिए ।

पुर्वप्रधानमन्त्री डा.भट्टराई, सांसद डा.यादव र पाण्डेविरुद्ध साइबर अपराधको मुद्दा

अपहरण गरेको अभियोग लागेको नेकपाका सांसदहरुले भने पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, सांसद डा.यावद र विश्वदीप पाण्डेविरुद्ध साईबर अपराधको उजुरी दिएका छन् । उनीहरुको उजुरी पनि प्रहरीले दर्ता गरेको छ । डा.भट्टराई, पाण्डेलगायतले नेकपाका सांसद महेश बस्नेतलगायतले आफ्नो पार्टीको सांसद डा.यादवलाई अपहरण गरेको सामाजिक सञ्जालहरुमा पोष्ट गरेका थिए ।

नेकपाका सांसदहरुले आफुहरुले अपहरण नगरेको जिकिर गर्दै आफुहरुको मानहानी भएको दाबी गर्दै उजुरी दिएका थिए । एसएसपी ज्ञवालीले अपहरणमा परेको भनिएका सांसद डा. यादव, पूर्वप्रधानमन्त्री भट्टराई र पाण्डेविरुद्ध पनि साइबर अपराधको कसुरमा मुद्दा दर्ता भएको बताए । एकले अर्काविरुद्ध उजुरी दिएकोले प्रहरीले अनुसन्धान अघि बढाएर आवश्यक प्रमाणहरु जुटाउने ज्ञवालीको भनाई छ । आवश्यकता अनुसार हिरासतमा राख्ने वा बाहिर राखेर अनुसन्धान गर्ने निर्णय हुने उनको भनाई छ ।