धरान: लकडाउनले समस्यामा परेपछि धरानको १८ नम्बर वडा कार्यालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विरामी कुरुवाहरुलाई खाना खुवाउन थालेको थियो ।
चैत १४ गतेदेखि शुरु भएको यो अभियानमार्फत अहिलेसम्म १५ हजार छाकभन्दा बढी खाना खुवाइसकेको वडा कार्यालयले जनाएको छ । नेपालमा चैत ११ गतेदेखि लकडाउन शुरु भएको थियो । लकडाउनको कारण होटल, रेष्टुरेष्टहरु सबै भन्द भएपछि विरामी कुरुवाहरुलाई खानाको समस्या भएको पाइए पछि बिहान र साँझको खाना नियमितरुपमा खुवाउदै आएको वडा १८ का अध्यक्ष प्रविण राईले जानकारी दिए ।
कोरोना भाइरसबाट बच्न तथा रोकथामको लागि लकडाउन लागु गरिए पछि वडाध्यक्षले आफ्नो एक महिनाको तलव र चार जना वडा सदस्यहरुले जनही १० हजार रुपैया जम्मा गरेर वडामा कोरोना राहत कोष स्थापना परेका थिए । समस्यामा परेकाहरुलाई यही कोषबाट सहयोग गर्दै आइरहेको अध्यक्ष राईले बताए । कुरुवाहरुलाई खानाको लागि धरान मारवाडी युवा समाज, औषधी व्यवसायी संघ, स्थानीय वासिन्दा चन्द्र गुरुङ्ग, व्यवसायी नविन गौतम लगायतसँग सहकार्य गरिरहेको अध्यक्ष राईले बताए । कुरुवाहरुलाई खाना खुवाउने कार्य लकडाउन खुला नभएसम्म जारी रहने उनले बताए ।
हङ्गकङबाट ५० हजार सहयोग
हङ्गकङमा कार्यरत धरान ७ निवासी खेम लिम्वु र उनकी श्रीमति रजना राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत विरामीका कुरुवाहरुको खानाको लागि आर्थिक सहयोग गरेका छन् । लकडानको कारण समस्यामा परेका विरामी कुरुवाहरुको लागि दम्पतिले एक हजार ५० छाक खानाको लागि नगद ५० हजार रुपैया सहयोग गरेका हुन् ।
हाल हङ्गकङमा नै रहेका दम्पतिले तरुण दल सुनसरीका कार्यवाहक सभापति सन्तोष विक मार्फत वडा १८ का अध्यक्ष प्रविण राईलाई रकम हस्तान्तरण गरेका छन् । दाताको चाहना अनुसार उनीहरुको प्रतिनिधि समेतको उपस्थितिमा शुक्रवार साँझ ३ सय ५० छाक खाना कुरुवाहरुलाई खुवाइएको थियो । यसैगरी, शनिवार साँझ र आइतावार साझसम्म उनीहरुको प्रतिनिधिको उपस्थितिमा खाना खुवाइने १८ न. वडा कायालयले जनाएको छ । सहयोग दाताको प्रतिनिधिको रुपमा तरुण दल क्षेत्रिय सभापति गणेश लिम्वु र क्षेत्रिय उपाध्यक्ष रवि राईको उपस्थिति रहेको थियो ।