विराटनगर: कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत थप २ जना आज डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेमा भोजपुर हतुवागढीका २६ वर्षीय उपेन्द्र राई र झापा बा¥हदशीका ४० वर्षीय महाजिर आलम रहेका छन् । राई गत वैशाख १३ गते र आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको पछिल्लो पटक गरिएको स्वाव परीक्षणको रिपोर्ट कोरोना नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले बताइन् । अस्पतालबाट डिस्चार्ज भएका दुवैलाई सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थ, स्वास्थ्य कार्यालय मोरंगका प्रमुख तथा कोभिड १९ उपचार केन्द्रका व्यवस्थापन संयोजक ज्ञानवहादुर वस्नेत लगायतले विदाई गरेका थिए ।
डिस्चार्ज भएका हतुवागढीका राईले गत फागुन ३० गते साउदी अरवबाट नेपाल आएका थिए । यस्तै, झापा बा¥हदशीका आलमले फागुन २७ गते भारतबाट घर आएका थिए । डिस्चार्ज भएका दुवै जनाले अस्पतालले भने अनुसार क्वारेन्टाईनमा १४ दिन बस्ने बताएका छन् । राईले भोजपुरको घोडेटारमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्नेछन् । उनले तत्काल परिवारको सम्पर्कमा नजाने बताए । उनले भने,‘मेरा कारणले अरुलाई समस्या नहोस् ।’
बा¥हदशीका आलमले घरमै निर्माण गरिएको क्वारेन्टाईनमा बस्ने बताए । सामाजिक विकास मन्त्रालयका सचिव पन्थले विदाई गर्दै अनिवार्य क्वारेन्टाईनमा बस्न सुझाव दिएका थिए । कोभिड अस्पतालमा उपचाररत आज २ जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । अस्पतालमा १९ जना अहिले उपचाररत रहेको कोशी अस्पतालले जनाएको छ ।