धरान: ईलाका प्रहरी कार्यालय धरानले हिजो र आज गरि २ जना ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त पक्राउ गर्न सफल भयो । पक्राउ परेका दुवैलाई प्रहरीले सार्वजनिक पनि गरिसकेको छ ।
प्रहरीले फरार भएको धरान १६ का फुर्तेन्जी तामाङ र धरान ५ का रुविन भुजेललाई प्रहरीले पक्राउ गरेका हो । ईलाका प्रहरी कार्यालयका अनुसार फुर्तेन्जीको घटना करिब ४ महिना अघिको हो भने रुबिनको घटना करिब १४ महिना अघिको हो । आखिर दुवैले कस्तो अपराध गरेका थिए, र यतिको समय पछि पनि प्रहरीको फन्दामा परे ? ती दुवै संलग्न घटनाबारे यहाँ उल्लेख गरिएको छ ।
फुर्तेन्जी पक्राउ पर्नुको कारण :
फुर्तोन्जी तामाङ संलग्न घटना २०७६ पुष ८ गते मंगलबारको हो । दिउँसो करिब साढे ३ बजे धरान ११ जोरसखुवा नजिक सडक केही युवाहरुले धरान १० मुनालपथका १८ बर्षीय शिवचन्द्र राईलाई बाटोमा हिड्दै गर्दा खुकुरी, छुरीले सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट शिवचन्द्रको टाउको, ढाडलगायत शरीरको भागमा गहिरो चोट लागेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल वीपी प्रतिष्ठानमा उपचारार्थ लगिएको थियो । अहिले उनको अवस्था धेरै सुधार भइसकेको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।
यो घटना पुरानो रिसइबीको कारण भएको थियो । मुख्य अभियुक्तहरु फुर्तेन्जी, अर्जुन तामाङसहित ४ जना फरार भएका थिए । उनीहरु फरार भएकैले मुद्दा अघि बढ्न सकेको थिएन । घटना भएको करिब ४ महिना पछि प्रहरीले फरार ४ जना मध्ये फुर्तेन्जीलाई प्रहरीले आज बिहान ११ बजे धरान ११ बाट पक्राउ गर्न सफल भएपछि मुद्दा प्रक्रिया अघि बढेको छ । अन्य ३ जना अझै फरार छन् ।
रुविन पक्राउ पर्नुको कारण:
प्रहरीले रुविनलाई घटना भएको झण्डै १४ महिनापछि पक्राउ गरेको हो । २०७५ चैत ७ गते दिउँसो करिब २ बजे धरान ७ शान्तिपथस्थित खाद्यान्न स्टोर अगाडि एक दर्जन युवाहरुले धरान ५ देउराली दशघरेका २३ बर्षीय सुजन भुजेलमाथि सांघातिक आक्रमण गरेका थिए । प्रहरीका अनुसार प्रशान्त लिम्बुसहित १२ जनाको समुहमा धरान ५ देउरालीका १९ बर्षीय रुविन भुजेल पनि संलग्न थिए ।
उनीहरुले सुजनलाई बन्चरो, खुकुरी, कट्टीसमेत धारिलो हतियारले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए । सुजनलाई तत्काल वीपी प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएको थियो । अहिले उनको अवस्था सामान्य भइसकेको छ । उक्त घटनामा संलग्न १२ जना मध्ये प्रशान्त भन्ने प्रशन लिम्बु, बिष्णु बेघासहित ७ जना यसअघि पक्राउ परेर मुद्दा अघि बढीसकेको थियो । सोही घटनाका अभियुक्त रुविन भने फरार थिए । उनलाई हिजो दिउँसो १ बजे धरान ५ बाट प्रहरीले पक्राउ गर्न सफल भएको हो ।