धरान: आजदेखि जिल्ला प्रशासन कार्यालयले दिएको सवारी पास लिएर पनि जिल्लाभित्र हिड्न पाइने छैन ।
कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि गृहमन्त्रालयले जिल्लाभित्र निर्वाध चल्न दिइएको सवारी पास पनि आजदेखि लागु हुने गरि खारेज गरेको छ । अब आजदेखि अत्यावश्यक सेवाबाहेकका निजी तथा कार्यालयका गाडीहरु सवारी पासको आधारमा गुडन पाउने छैन ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले अत्यावश्यक र निर्माण कार्यको गाडी भने यथावत चल्नेछ । तर, निर्माण कार्यमा खटिने आयोजनाका कर्मचारीहरुलाई दिइएको व्यक्तिगत सवारी पास भने खारेज भएको प्रजिअ पौडेलले बताए । ‘अत्यावश्यक सेवाको गाडीलाई पास चाहिदैन, निर्माण कार्यको गाडीलाई यसअघि नै निर्णय भएकोले यथावत चल्छ,’प्रजिअ पौडेलले भने,‘तर निर्माण व्यवसायीको सिफारिशमा आयोजनाको साइटमा खटिने कर्मचारीलाई दिइएको पास चै रद्द हुन्छ ।’
अत्यावश्यक सेवा तथा विद्युत, खानेपानी, टेलिकम, स्थानीय तहका कर्मचारीहरु आफ्नो कार्यालयको पोशाक र परिचयपत्रको आधारमा हिड्नुपर्ने हुन्छ । पत्रकारहरुलाई प्रेस पासले हिड्न छुट छ भने बैंकका कर्मचारीहरुले पनि कार्यालयको पोशाक र परिचय पत्र लगाएर कार्यालय समय तथा विदा भएपछि घर फर्कने समयमा हिड्न मिल्ने पनि प्रजिअ पौडेलले बताए ।