विराटनगर: प्रेमीसँग मिलेर आफ्नै श्रीमतिले विराटनगरमा एक औषधी व्यवसायीको हत्या भएको खुलेको छ।
इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका ३३ बर्षीय देवीप्रसाद दुलालको उनकै श्रीमति र प्रेमी मिलेर हत्या गरेको खुलेको हो । प्रहरीले दुलालको हत्यामा संलग्न पत्नी ३३ बर्षीय मीना श्रेष्ठ दुलाल र उनकी प्रेमी सिरहाको लान ११ का २१ बर्षीय ब्रह्मदेव साहलाई मोरङ प्रहरीले पक्राउ गरिसकेको छ । इटहरी घर भएका मृतक दुलाल विराटनगरमा औषधी व्यवसाय गर्थे । उनको आइतबार बिहान विराटनगर १० मधुमारामा हत्या भएको थियो ।
प्रहरीका अनुसार पत्नी मीनाकै योजनामा दुलालको हत्या भएको हो । राती करिब ११ बजेतिर हत्या भएको पक्राउ परेकाहरुको वयानबाट खुलेको छ । मृतक दुलाल सुतेको बेला प्लष्टिकको डोरीले घाँटी कसेर हत्या गरेको खुलेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । प्रेमीले खुट्टा र शरीर थिचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने श्रीमतिले घाँटी कसेको पाइएको छ । उनीहरुले हातमा पञ्जा लगाएका थिए । घाँटी कसेको थाह पाएपछि उठ्ने प्रयास गर्दा दुलालको बाँया आँखामा चोट पनि लागेको छ ।
मृतक दुलाल ओछ्यानमा बेहोस भेटिएको भन्दै आइतबार बिहान उपचारको लागि अस्पताल लगिएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गर्दै मृत्यु अस्वभाविक भएको भनेपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरी अनुसन्धानबाट मीना र प्रेमीबीच विगत एक बर्षदेखि प्रेम रहेको खुलेको छ भने प्रेमी ब्रह्मदेव ४ बर्षदेखि मृतककै औषधीको डिलरको पुर्वकर्मचारी रहेको पनि पाइएको छ । श्रीमतिसँगको सम्बन्धबारे सुइको पाइपछि दुलालले ब्रह्मदेवलाई पाँच महिनाअघि कामबाट निकालिदिएका थिए । त्यसपछि सामाजिक सञ्जाल र फोनमा नियमित सम्पर्कमा रहेर दुलालको हत्या योजना बनेको प्रहरी अनुसन्धानले देखाएको छ ।