धरान: झापाका कोरोना संक्रमित १५ जना व्यक्तिहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइने भएको छ ।

झापाबाट एकैपटक १५ जना संक्रमित व्यक्तिहरु आउने भएपछि अहिले वीपी प्रतिष्ठानको र्यापिड रेस्पोन्स टिम(आआरटि)को बैठक बस्न लागेको छ । झापाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) उदयबहादुर राना मगरले संक्रमित व्यक्तिहरुलाई धरान पठाउन एम्बुलेन्स गएको बताए । उनका अनुसार संक्रमित १५ जना दक्षिणी क्षेत्र कचनाकवल गाउँपालिकाका हुन् । ‘उहाँहरुलाई धरानको वीपी पठाउदैछौं, एम्बुलेन्सले लिएर हिडिसकेको हुनुपर्छ,’प्रजिअ मगरले भने ।

कचनाकवल गाउँपालिका १ का अध्यक्ष एवं प्रवक्ता लक्ष्मीनारायण यादवका अनुसार १५ जना संक्रमितहरु सबै पुरुष छन् । उनीहरु गाउँपालिका ३, ६ र ८ वडाका बासिन्दा हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान थप १७ जना संक्रमित पुष्टि भएको रिपोर्ट सार्वजनिक गरेकामध्ये १५ जना कचनकवलकै हुन् । ‘एम्बुलेन्स लिन आइसकेको छ, धरान पठाउने तयारी गर्दैछौं । केही समयमा हिड्छ,’प्रवक्ता यादवले भने ।

यता, वीपी प्रतिष्ठानमा एकै पटक १५ जना संक्रमित झापाबाट आउने भएपछि आरआरटिको आकस्मिक बैठक बस्दैछ । अडिटोरियम हलमा शुरु हुन लागेको बैठक झापाबाट आउने संक्रमितहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा केन्द्रीत रहने एक सदस्यले बताए ।