धरान: ब्राउन सुगरसहित धरान १३ बाट पक्राउ परेका एक युवतीसहित तीन जनालाई ईलाका प्रहरी कार्यालय धरानले सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा धरान १४ बाँझगराका ४३ बर्षीय घनश्याम राई, धरान १३ का २९ बर्षीय मन्दिप मगर र धरान १३ की २५ बर्षीय समिया लिम्बु रहेका छन् । उनीहरुलाई हिजो राती करिब ९ बजे धरान १३ स्थित डेराकोठाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालयका अनुसार मन्दिपको साथबाट १५० मिलिग्राम खैरो हिरोइन(ब्राउन सुगर) र एक सेट मोवाइल वरामद भएको छ भने घनश्याम र समियाको कोठाबाट ३ ग्राम गरी कुल ३ ग्राम १५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ ।

drug

यस्तै, घनश्याम र समियाको कोठामा प्लाष्टिकको झोलामा १५० ट्याब्लेट नाइट्रोसन लागुऔषध पनि प्रहरीले वरामद गरेको छ । दुवैको साथबा ८३ हजार रुपैया पनि वरामद भएको छ । प्रहरीले लागुऔषधसहित पक्राउ परेका तीन जना र उनीहरुबाट वरामद भएको नगद, सामाग्रीहरु सबै आज सार्वजनिक गरेको हो । उनीहरुलाई जिल्ला अदालत सुनसरीबाट लागुऔषध ऐनअन्र्तगत कारबाही अघि बढाउन म्याद थप गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।