धरान: गएको शिवरात्रीको दिन धरान १४ वमधारा मार्गमा शिवजी चोक नामकरण गरेर बोर्ड राखिएको थियो । जसको उद्घाटन वडाअध्यक्ष कृष्ण भट्टराईले गरेका थिए ।
त्यही चोकको बोर्ड हिजो राती स्थानीय युवाहरुले तोडफोड गरिदिए । त्यो क्षेत्रबाट मनिषा बिक दलित महिला वडा सदस्यकोरुपमा निवार्चित भएकी छिन् । त्यसैले आज उनकै पहलमा तोडफोड भएको बिषयमा छलफल आयोजना भएको थियो । बोर्ड तोडफोड गर्नेहरुको पहिचान भइसकेको थियो । त्यसैले उक्त छलफलमा बाबुराम अधिकारी, गणेश कार्की, अर्जुन तामाङ, पदम तामाङ र मनोज तामाङ पनि आए । प्रहरी चौकीबाट प्रहरी पनि छलफलमा थिए । तीन जना तामाङ थरका युवाहरु एकै घरका दाजुभाई हुन् ।
छलफलमा ती युवाहरुले आफुहरुले भत्काएको स्वीकार गरे । बोर्ड बनाइदिन उनीहरु राजी भए । प्रहरीले पनि बोर्ड बनाउने भनेपछि थप कारबाही नगर्ने भयो । स्थानीयहरु ती युवाहरुलाई कारबाही होस् भन्ने चाहन्थे । किनभने, ती युवाहरु वद्मास थिए, र स्थानीयलाई निक्कै दुःख दिएका थिए । बोर्ड बनाउन भन्दै उनीहरुले फलामे डण्डा लिएर गए । प्रहरी पनि कार्यालय तिर लाग्यो । तर, प्रहरी गएको केही बेरमा नै ती युवाहरु आएर जथाभावी आक्रमण गर्न थाले । उनीहरुले वडा सदस्य मनिषा बिक, पुर्व प्रहरी हवल्दार झलक तामाङ र सुरज बिकलाई गम्भीर घाइते बनाए ।
मनिषा र झलक घटनास्थलमा नै बेहोस भएका थिए । प्रत्यक्षदर्शी टिका प्रधानका अनुसार बेहोस भएर ढलिसके पछि पनि झलकलाई ती युवाहरुले प्रहार गर्न छोडेका थिएनन् । ‘लात्तै लात्ताले हान्यो, हामीले नछेकेको भए झलक दाईलाई मार्थे,’आफै पनि घाइते टिकाले भनिन्,‘मलाई पनि बियरको बोतलले हान्यो । छातीमा लात्ताले हान्यो । जे भेट्यो त्यहीले जसलाई पायो उसलाई हान्यो ।’अर्का प्रत्यक्षदर्शी गंगाराम भट्टराईका अनुसार वमधारा मार्ग केहीबेर रणमैदान जस्तै बनेको थियो । ‘वेल्डिङ गर्न भनेर पठाएको फलाम, वियरको बोतल,रड बोकेर आएर महिला, पुरुष सबैलाई आक्रमण गरे, रणभुमीजस्तै बनेको थियो,’उनले भने ।
कुलतमा फसेका युवाहरु
आक्रमणबारी युवाहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ । ती युवाहरु टोलका वदमास र लागुऔषध सेवन गर्नेहरु भएको स्थानीयको भनाई छ । गाँजा, ट्याब्लेट खाएर हिड्ने, राती अबेरसम्म होहल्ला गर्ने, खुकुरी बोकेर हिड्ने गरेकोले टोल आतंकित भएको स्थानीयहरु बताउँछन् ।
कडा सजाय हुनुपर्छ: वडाअध्यक्ष
वडा नं १४ का अध्यक्ष कृष्ण भट्टराईले वमधारा मार्गलाई सुन्दर बनाउनुपर्छ भनेर लागिपरेका अभियन्ताहरुलाई रड, वियरका बोतलले आक्रमण हुनु ज्यादै निन्दनीय घटना भएको बताए । उनले यो घटनामा संलग्नहरुलाई कडा भन्दा कडा सजाय हुनुपर्ने माग पनि गरे । साथै, आफुले पनि कडा सजाय दिलाउन पहल गर्ने र घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने पनि बताए ।