धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा एक जना कोरोना संक्रमित थपिएका छन् ।

झापाको बाह्रदशी गाउँपालिकाबाट एक कोरोना संक्रमित व्यक्तिलाई प्रतिष्ठान ल्याइएको हो । उनलाई पनि प्रतिष्ठानको आइसोलेसन वार्डमा राखिएको छ । ‘आइसोलेसनमा एक जना थपिएको छ, झापाबाट पठाएको हो,’प्रतिष्ठानका कोरोना तथा अन्य रोगका विरामी व्यवस्थापन फोकल पर्सन डा.इन्द्र लिम्बुले भने,‘यहाँ आइसोलेसनमा २५ जना छन् ।’

हिजो स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङको क्रममा त्रुटीवश प्रवक्ता डा.विकास देवकोटाले मोरङको बाह्रदशी गाउँपालिका भनेका थिए । तर, मोरङ जिल्ला नभै बाह्रदशी गाउँपालिका झापाको दक्षिणी भेगमा अवस्थित गाउँपालिका हो । त्यहाँ क्वारेन्टाइनमा रहेका एक युवालाई कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि ती युवालाई हिजो नै धरान पठाएको गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले जानकारी दिए । ‘यहाँ क्वारेन्टाइनमा थियो, रिपोर्ट पोजेटिभ आएपछि धरान पठाएका छौं,’उनले भने ।

प्रदेश १ का कोरोना संक्रमितहरुलाई यसअघि विराटनगरको कोभिड १९ अस्पतालमा राखिदै आएको थियो । संक्रमितको संख्या बृद्धि भएसँगै सरकारले वीपी प्रतिष्ठानमा पनि संक्रमितहरुलाई राखेर उपचार गर्न थालेको हो । प्रतिष्ठानले संक्रमितहरुलाई आइसोलेसन वार्डमा नै राख्ने गरेको छ ।

संक्रमित दिल्लीबाट आएका हुन्

गाउँपालिका अध्यक्ष राजवंशीका अनुसार संक्रमित युवा भारतको दिल्लीबाट आएका हुन् । उनी आएदेखि नै क्वारेन्टाइनमा थिए । अरु पनि थुप्रै युवाहरु क्वारेन्टाइनमा थिए । तर, अधिकांशको रिपोर्ट नेगेटिभ अएपछि घर गएको अध्यक्ष राजवंशीको भनाई छ । ‘अब ४ जना मात्र क्वारेन्टाइनमा छन्, उनीहरुको पनि भोली पिसिआर टेष्टको लागि स्वाब लिन्छौं,’उनले भने ।

वीपीको आइसोलेसनमा २५ जना संक्रमित, २४ जना झापाका

वीपी प्रतिष्ठानको आइसोलेसन वार्डमा कुल २५ जना कोरोना पोजेटिभ रिपोर्ट आएका संक्रमितहरु छन् । ती मध्ये एकजना मात्र धरान(सुनसरी)का हुन् भने अन्य सबै २४ जना झापा जिल्लाका संक्रमित हुन् । झापाका २४ जनामा पनि २३ जना केचनाकवल गाउँपालिकाबाट ल्याइएको हो । उनीहरु सबै रोजगारीको लागि भारत गएकाहरु हुन् ।

लकडाउनको कारण रोजगारी गुमेको र धेरै समस्या व्यहोर्नुपरेपछि लकडाउनकै बीचमा घर फर्किएकाहरु हुन् । ‘पोजेटिभ आएका सबै नै भारतको विभिन्न ठाउँबाट फर्किएकाहरु हुन्, अझै यहाँ थुप्रै क्वारेन्टाइनमा छन्, र भारतबाट अझै आउने क्रममा छन्,’वाड नं १ का अध्यक्ष एवं गाउँपालिका प्रवक्ता लक्ष्मीनारायण यादवले भने ।