धरान: आज दिउँसो थप भएको ८ जनासहित कुल २३ जना कोरोना संक्रमित झापा जिल्लाबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आउदैछन् । उनीहरुलाई प्रतिष्ठानको आइसोलेसन वार्डमा नै राखिने भएको छ ।
झापाबाट आउदै गरेका २३ जना केचनकवल गाउँपालिकाका हुन् । दिउँसो १५ जना ल्याउने तयारी हुदै गर्दा थप ८ जना पनि संक्रमति भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेपछि उनीहरुलाई पनि वीपी पठाइएको गाउँपालिका १ अध्यक्ष एवं प्रवक्ता लक्ष्मीनारायण यादवले जानकारी दिए । उनीहरु सबै रोजगारीको सिलसिलामा भारत गएर फर्किएपछि क्वारेन्टाइनमा राखिएको थियो ।
यता, वीपी प्रतिष्ठानको र्यापिड रेस्पोन्स टिम(आरआरटि)को बैठकले झापाबाट आएका संक्रमितसहित सबैलाई आइसोलेसन वार्डमा नै राख्ने भएको छ । प्रतिष्ठानले पेइङ वार्डलाई कोरोनाका लक्षण देखिएकाहरुको लागि रिपोर्ट आउनुअघिसम्म राख्न प्रयोगमा ल्याएको थियो । अब भने संक्रमण पुष्टि भएकाहरुलाई पनि यही राखिने भएको छ । आइसोलेसनको लागि तीन तलाको पेइङ वार्डलाई नै प्रयोग गरिने भएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले आइसोलेशन वार्डको लागि प्रशस्तै ठाउँ भएको बताए । सय बेडको कोभिड १९ अस्पताल लेभल थ्री भएकोले सिरियस व्यक्तिहरुलाई मात्र उपचारको लागि राखिने उनले बताए । ‘आइसोलेशन वार्डको भवनमा प्रशस्तै ठाउँ छन्, उहाँहरुको सम्बन्धित डिपार्टमेन्टले क्लिनिकल डिसिजन गर्छ,’उनले भने । हाल आइसोलेसन धरान १३ की एक संक्रमित महिला छिन् । झापाबाट आएको सहित कुल २४ जना संक्रमित हुनेछन् ।