धरान: नेपालमा पछिल्लो पटक एक मृत्यु भएका व्यक्तिसहित ७ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै संक्रमितको संख्या कुल ६८२ पुगेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नियमित मिडियो ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नेशनल मेडिकल कलेज वीरगञ्जमा मृत्यु भएका ७० बर्षीय वृद्धाको पिसिआर रिपोर्ट पोजेटिभ आएको र कोभिड १९ बाट मृत्यु हुनेको संख्या ४ पुगेको बताए । उनका अनुसार कलैया ७ बाराका ती वृद्ध जेठ २ गते अस्पतालमा भर्ना भएका थिए ।

टि.बि. र दीर्घ स्वासप्रश्वासको समस्या भएर सास फेर्न गाह्रो भएका ती वृद्धको ३ गते नै स्वाब कलेक्सन गरिएको र नारायणी अस्पतालमा परीक्षण गर्दा शंकास्पद भएपछि राष्ट्रिय प्रयोगशाला काठमाण्डौं पठाएको डा.देवकोटाले बताए । देवकोटाका अनुसार वृद्धको ४ गते मृत्यु भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाबको नमुना ५ गते संकलन गरिएको थियो भने ६ जनामा संक्रमण देखिएको थियो ।

मृतक वृद्धसहित नयाँ संक्रमण पुष्टि भएका ७ जनामा अछामको मलेख गाउँपालिकाका एक युवा छन् भने वर्दियाका ३ जना छन् । यस्तै, पर्साको जिराभवानी गाउँपालिकाका एक युवा छन् भने काठमाण्डौं घर भई कलैया वारामा कार्यरत एक युवामा पनि संक्रमण पुष्टि भएको डा.देवकोटाले बताए ।

११२ जना डिस्चार्ज

डा.देवकोटाले संक्रमितहरुमध्ये उपचार पश्चात ११२ जना निको भएर घर फर्किएको पनि जानकारी दिए ।