धरान: नेपाल–भारतका अधिकारीहरुबीच सहमति वमोजिम प्रदेश १ का विभिन्न जिल्लामा रहेका भारतीय नागरिकहरुलाई पनि पठाउने प्रक्रिया शुरु भएको छ ।
भारतसँगको सीमावर्ति जिल्लाहरु इलाम, झापा, मोरङ र सुनसरीबाट भारतीय नागरिकहरुलाई पठाउन थालिएको हो । नाका बन्दको बेला पनि आआफ्ना देशका नागरिकहरुलाई व्यवस्थितरुपमा ल्याउने र पठाउनेबारे दुवै देशका अधिकारीहरुबीच सहमति भएको थियो । भारतमा हजारौं नेपालीहरु लकडाउन र सीमा बन्दले अलपत्र परेपछि उनीहरुलाई व्यवस्थितरुपमा ल्याउने काम शुरु भइसकेको छ । यसैगरी नेपालमा रहेका भारतीयहरुलाई पनि पठाउन थालिएको नेपालका सरकारी अधिकारीहरुले बताएका छन् । भारत पठाउनुपर्ने भारतीय नागरिकहरुभन्दा नेपाल आउने संख्या अत्यधिक छ ।
नेपाली नागरिक ल्याउने र भारतीय पठाउने जिम्मेवारी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको हो । प्रदेश १ मा सबैभन्दा बढी झापामा भारतीय नागरिकहरु रहेका थिए । यस्तै, मोरङ र सुनसरीमा पनि थिए । यी जिल्लाहरुमा इटा भट्टामा काम गर्न र अन्य विभिन्न उद्योगमा काम गर्नका लागि भारतीयहरु आएका थिए । यसअघि अनौपचारिकरुपमा पनि भारतीयहरु लुकीपिछी भारत गएको र ३ दिन यता भने औपचारिकरुपमा नै पठाउन थालिएको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार काकडभिट्टा नाकाबाट तीन दिनयता करिब २७ सय नागरिकहरु भित्रिएका छन् भने ४ हजारको हाराहारीमा भारतीय नागरिकहरु अनौपचारिकरुपमा किसनजंग क्षेत्रबाट गइसकेका छन् । केही संख्यामा बाँकी रहेका भारतीयहरुको नामावली संकलन भइरहेको र उनीहरुलाई औपचारिकरुपमा नै पठाइने पनि प्रजिअ रानाले बताए ।
यता, मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार हिजो बुधबार २९ जनालाई विहारतर्फ पठाइएको थियो । अन्य जिल्लालाई पनि सम्पर्क गरेर बिहारका नागरिकहरुलाई पठाइदिन समन्वय गरिएको उनले बताए । ‘अरु राज्य होइन, विहारको मात्र पठाइदिनु भनेकोले समन्वय भइरहेको छ । आज धेरै नै जान्छन्,’उनले भने । उनका अनुसार करिब हजारको संख्यामा भारतबाट नेपालीहरु जोगवनी नाकाबाट आएका छन् । उनीहरुलाई होल्डिङ एरियामा राखेर ठेगाना पत्ता लगाउने र सम्बन्धित पालिकामा पठाउने प्रक्रिया भइरहेको बताए ।
यता, सुनसरीका प्रजिअ राजेश पौडेलले जोगवनी नाकाबाट जानेहरुलाई पठाइएको बताए । साथै, पर्साको वीरगञ्ज, रुपन्देही नाकाबाट जान चाहनेहरुलाई पनि पास दिएर पठाइरहेको उनले बताए । इलामका प्रजिअ तुलसीराम सेढाईले कपडा बेच्न आएको केही भारतीयहरु भएको जानकारी भएपनि अहिलेसम्म कोही पनि भारत जान पाउ भन्दै सम्पर्कमा नआएको बताए ।