धरान: भारतको विहार राज्यस्थित सीतामढी जिल्लाको लग्मा गाउँमा हत्या भएकी २९ बर्षीय रेखा दासको श्रीमानसहित ३ जना विरुद्ध विहार प्रहरीमा उजुरी(एफ.आई.आर.) दर्ता भएको छ ।

धरान ९, वगैचा चोक माइती घर भएकी रेखाको बुबा र भाई लग्मा पुगेर प्रहरीमा श्रीमानसहित ४ जना विरुद्ध उजुरी गरेका हुन् । प्रहरीमा उजुरी परेपछि मृतक रेखाका श्रीमान्, जेठाजु र २ दुई देवरहरु फरार छन् । वडा नं ९ का अध्यक्ष रत्न कटवालका अनुसार मृतकका बुबा र भाई राजु ४ दिनअघि राजविराज हुदै भारततर्फ गएका थिए । शुरुमा लग्मास्थित भारतीय प्रहरीले उजुरी लिन मानेको थिएन । गाउँका मुखियाको प्रभावमा प्रहरीले उजुरी नलिएपछि माइती नेपालमार्फत सिबिआई र सीतामढीका एस.पी.सम्म घटनाबारे कुरा पुर्याएपछि मात्र हिजो(बिहिबार) प्रहरीले उजुरी दर्ता गरेको वडाअध्यक्ष कटवालले बताए । ‘उजुरी हिजो प्रहरीले दर्ता गरेको छ, दर्ता हुने यो थाह पाएपछि उनीहरु अस्तिको दिनमै फरार भएछन्,’अध्यक्ष कटवालले भने ।

अहिले पनि गाउँका मुखिया, मृतककी सासुको बहिनीहरुले मृतकका छोरीहरुको पालनपोषण गरिदिने भन्दै मुद्दा अघि नबढाउन मृतकका बुबा र भाईलाई फकाइरहेका छन् । तर, उनीहरुले बच्चाहरु आफै पालन पोषण गर्ने तर मुद्दा फिर्ता नलिने अडान लिएको अध्यक्ष कटवालले बताए । ‘अहिले पनि दबाब दिइरहेकै छन्,’अध्यक्षले कटवालले जानकारी दिदै भने ।

उनका अनुसार यो घटनबारे भोली(शुक्रबार) गाउँ पञ्चायतले वृहत छलफल राखेको छ । उक्त छलफलमा प्रहरी, माइती पक्ष, गाउँले सबै आउने जानकारी मृतकका भाई राजुले वडाअध्यक्ष कटवाललाई दिएका छन् । ‘त्यहाँ अचम्मै हुदो रहेछ । प्रहरीमा उजुरी परेपछि पनि पञ्चायत बस्ने कुरा छ । चित्त बुझ्यो भने फर्कने नत्र मुद्द अघि बढाउछौं भन्दैछन्,’मृतकको भाईको भनाई उदृत गर्दै अध्यक्ष कटवालले भने ।

मृतक रेखाको करिब १४ बर्षअघि नै सीतामढीका सीतकुमार रामसँग विवाह भएको थियो । उनीहरुको ३ जना सन्तान(छोरीहरु) छन् । जेठी छोरीकै उमेर करिब १२ बर्ष पुगिसकेको छ । छोरी मात्र जन्म दिएको र दाइजो पनि धेरै नपाएको भन्दै रेखालाई बेला बेला कुटपिट हुने गरेको थियो । बिशेष गरि देवरले रेखालाई दाइजोको कुरा उठाएर कुटपिट नै गर्ने गरेका थिए । पछिल्लो समय पनि छोरीलाई कुटेको बिषयमा देवरसँग विवाद भएको थियो । केही दिनमै रेखाको हत्या भएर जलाई सकेपछि मात्र जेठी दिदीमार्फत जानकारी पाएको भाई राजुको भनाई छ । जेठी दिदीको विवाह पनि सीतामढीमा नै भएको छ ।