धरान: धरानको वडा नं ९, वगैचा चोक माइती घर भएकी एक महिलाको भारतमा हत्या भएको छ ।
विहारको सीतामढी जिल्लास्थित लग्मा भन्ने ठाउँमा विहे गरेर गएकी २९ बर्षीया रेखा दासको हिजो हत्या भएको खबर यहाँ माइती पक्षले पाएको छ । परिवारजन मिलेर रेखाको हत्या गरी जलाई सकेको खबर पाएपछि माइतीमा भएकाहरु चिन्तित छन् । उनीहरु कानुनी कारबाही गराउन भारत जान चाहन्छन्, तर लकडाउनको कारण सीमामा आवतजावत बन्द गरिएकोले कसरी पुग्ने भन्ने समस्या छ । भाई राजु दासका अनुसार मृतक रेखाको करिब १४ बर्षअघि नै सीतामढीका सीतकुमार रामसँग विवाह भएको थियो । उनीहरुको ३ जना सन्तान(छोरीहरु) छन् । जेठी छोरीकै उमेर करिब १२ बर्ष पुगिसकेको छ ।
छोरी मात्र जन्म दिएको र दाइजो पनि धेरै नपाएको भन्दै रेखालाई बेला बेला कुटपिट हुने गरेको थियो । बिशेष गरि कान्छा देवरले रेखालाई दाइजोको कुरा उठाएर कुटपिट नै गर्ने गरेका थिए । एक पटक चिर्पट प्रहार गरेर टाउको नै फुटाइदिए पछि माइती पक्ष गएर छलफल गर्न खोज्दा आफन्त काकाले गाउँमा मुखियासँग छलफल गर्नै नदिएको भाई राजुको भनाई छ । हत्या भएकी रेखा माइली हुन् । जेठी दिदीको पनि विहारमा नै विवाह भएको भाई राजुले बताए । उनका अनुसार जेठी दिदी र हत्या भएकी रेखाको सासुहरु पनि दिदी बहिनी हुन् ।
‘देवरले छोरीलाई कुटेपछि दिदीले किन कुटेको भन्नु भएको रहेछ, त्यही बिषयमा विवाद भयो भन्ने थाह भयो,’भाई राजुले भने,‘पछि दिदीको फोन स्विच अफ भयो । भेनालाई गर्दा पनि स्विच थियो । जेठी दिदी पनि उतै हुनुहुन्छ, उहाँले बुझ्दा मारेर पनि जलाई सक्यो भन्ने थाह भयो ।’ दिदीको हत्या गर्नेलाई कडा कानुनी कारबाही गराउन आफुहरु भारत जान चाहे पनि अहिले लकडाउन र सीमा बन्द भएको कारण समस्या भएको उनले बताए ।
घटनाबारे जानकारी पाएलगत्तै माइती पक्षले वडा नं ९ का अध्यक्ष रत्न कटवाललाई हिजो राती नै सम्पर्क गरेका थिए । अध्यक्ष कटवाल आज बिहानै उनीहरुसँग भेट गरेर कसरी भारत जान सकिन्छ भनेर छलफल गरेका छन् । भारतीय पेन्सन अफिस र इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेसँग छलफल गरेर माइती पक्षलाई भारत पठाउन पहल गर्ने वडाअध्यक्ष कटवालले बताए । ‘मलाई राती नै फोन गरेका थिएँ, अहिले विहान आएर घटनाबारे बुझँे, फेरि फोन गर्न लगाएर बुझेको घटना भएकै रहेछ,’वडाअध्यक्ष कटवालले भने,‘माइती पक्षलाई भारत जाने व्यवस्था मिलाउन पहल गर्दैछुँ ।’