धरान: आफ्नै बाबुबाट बलात्कृत १४ बर्षीय वालिका घटना सार्वजनिक भएयता घरमै छन् । उनी घरमै हुँदा थप मानसिक तनावमा छिन् ।
धरान १७ की एक वालिकालाई बलात्कार गरेको आरोपमा उनकै बुबा पक्राउ परेका थिए । आमा घरमा नभएको बेला बलात्कृत भएपछि पीडित बालिकाले छरछिमेकका आफ्ना साथीलाई घटनाबारे सुनाएकी थिइन् । त्यसपछि छिमेकीहरुको मद्दतले ती बालिका वडा कार्यालय हुदै प्रहरीमा पुगेपछि उनको बुवा पक्राउ परेको थियो । प्रहरीले उनको बुवालाई ३ दिनअघि पक्राउ गरेको थियो । पीडित वालिकाका अनुसार यसअघि पनि उनलाई बावुले बलात्कार गरेका थिए ।
घटनाबारे छरछिमेक र आफन्तहरुले थाह पाएपछि उनको घरमा आएर सोधखोज गर्ने गरेकोले बालिकालाई थप मानसिक तनाव भइरहेको वडा १७ की सामाजिक कार्यकर्ता सुखशान्ता राईले बताइन् । उनका अनुसार पीडितकी आमाले पनि मलाई केही नभनी एकै चोटी वडामा गएछ भन्दै चित्त दुखाएकी थिइन् । ‘म पीडित बालिकाको घरमा गएको थिएँ, आमाले कमाएर खुवाउने बाउ नै हो, लकडाउनले झनै गाह्रो भएको छ भन्दैथिइन्,’सुखशान्ताले भनिन्,‘मलाई पनि भनेन, एकैचोटी वडामा गएछ भनेर चित्त देखाउदै गुनासो गरिन् ।’ आमाले गुनासो गर्नुको अर्थ छोरीले वडा कार्यालय र प्रहरीमा गएर गल्ती गरिन् भन्न खोजेको उनको भनाई छ ।
उनका अनुसार पीडित वालिकाको घरमा अन्य आफन्तजनहरु पनि भेला भएको र छरछिमेकहरु पनि थिए । उनीहरुले पनि घटनाबारे सोधी खोजी गरिरहने भएकोले ती वालिका घरमै हुँदा थप मानसिक पीडा हुने सुखशान्ताले बताइन् । ‘केही मान्छेले बावुले बलात्कार गरेको हो कि होइन भन्दै सोध्न लगाउदै थिए । यसरी घरमै बस्दा त मानसिकरुपमा झन् तनाव होला भन्ने लाग्यो,’उनले भनिन्,‘अन्त कतै सुरक्षित ठाउँमा राखेर मनोपरामर्शको आवश्यकता छ । वडाअध्यक्षसँग पनि यो बिषयमा कुरा भएको छ ।’
वडा नं १७ का अध्यक्ष मनोज भट्टराईले भने पीडित वालिकालाई घरबाट अन्तै सुरक्षित ठाउँमा लैजान पहल भइरहेको बताए । उनका अनुसार ती वालिकालाई आवश्यक मनोपरामर्श पनि दिने र पढाईको व्यवस्था पनि हुने गरी राख्ने ठाउँको खोजी भइसकेको छ । ‘घरबाट अन्त सुरक्षित ठाउँमा लैजान पहल गर्यौं । कहाँ लैजाने भन्ने पनि भइसक्यो । लगेर केही दिन राखेर मात्र हुदैन, उनको पढाई र भविष्य पनि हेरेर उचित ठाउँमा कुरा गरिसकेका छौं,’अध्यक्ष भट्टराईले भने ।