धरान: धरान १७, एन्फा एकेडेमीस्थित क्वारेन्टाइनमा रहेका सबै जनाको पिसिआर जाँच गरिने भएको छ ।
आज क्वारेन्टाइनस्थलमा सबैको पिसिआर जाँचको लागि स्वाबको नमुना संकलन गरिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनस्थलमा ४५ जनाको स्वाब संकलन गरिएको छ । ती सबैको स्वाब संकलन गरेर परीक्षणको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइने उनले बताए । परीक्षणको रिपोर्ट आए पछि नेगेटिभ भए घर पठाइने उनले बताए ।
क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य सचिव एवं वडा १७ का सचिव शिशिर श्रेष्ठका अनुसार क्वारेन्टाइनमा रहेकाहरुलाई बिहान र दिउँसो खाजा दिइन्छ भने खाना पनि बिहान र बेलुकी दिइन्छ । खाना सप्तरंगी पार्कमा पकाइन्छ । खानेकुरा अल्मुनियम फोइलमा ल्याउने र सबै कुरा भित्र नै डिस्पोज गर्ने गरिएको पनि उनले बताए ।
क्वारेन्टाइनमा विभिन्न कारणले भारत गएकाहरु घर फर्किन थालेपछि उपमहानगरपालिकाले एन्फामा क्वारेन्टाइन तयार गरेर राख्न थालेको हो । क्वारेन्टाइनमा रहेकाहरु तीर्थयात्रा, आफन्तको निधनमा र रोजगारीको क्रममा भारत गएकाहरु हुन् ।
ट्वाइलेट र बाथरुम निर्माण
क्वारेन्टाइन रहेको धरान १७ स्थित एन्फा एकेडेमीमा ट्वाइलेट र बाथरुम निर्माण गरिएको छ । क्वारेन्टाइनमा रहेका मानिसहरुको लागि उत्तरपट्टि अलग्गै निर्माण गरिदैछ भने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको लागि दक्षिणपट्टी अलग्गै निर्माण भइरहेको छ । यो गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा निर्माण भइरहेको हो ।
एउटा बाथरुम र दुई वटा ट्वाइलेट दुवैपट्टी निर्माण हुनेछ । बुधबार धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी र गोर्खा वेल्फेयरका प्रतिनिधिहरुले स्थलगतरुपमा निर्माणाधिन संरचनाहरुको अनुगमन पनि गरेका थिए ।
क्वारेन्टाइनको सुरक्षामा नेपाली सेना
एन्फा एकेडेमीमा निर्माण गरिएको क्वारेन्टाइनको सुरक्षामा नेपाल आर्मी खटिएका छन् । क्याप्टेनको नेतृत्वमा ९ जना नेपाली सेना एन्फामा छन् । क्वारेन्टाइनमा २ जना उपमहानगरपालिकाका स्वास्थ्यकर्मी पनि खटिएका छन् । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई पनि क्वारेन्टाइनस्थलमा नै खाने, बस्ने व्यवस्था उपमहानगरपालिकाले मिलाएको छ ।