धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा कोरोना पोजेटिभ एक विरामी भेटिएपछि आज शुक्रबार र्यापिड रेस्पोन्स टिम(आरआरटि)को आकस्मिक बैठक बस्यो ।
बैठकले संक्रमित बालिकाको कन्ट्याक्ट ट्रेसिङको जिम्मा कम्युनिष्टी मेडिसिन विभागलाई दिने, वार्डका विरामी र तिनका कुरुवालाई बाहिर निस्कन नदिई खानाको व्यवस्था प्रतिष्ठानले नै गर्ने लगायत विभिन्न निर्णयहरु गरेको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार कम्युनिटी मेडिसिनले कन्ट्याक ट्रेसिङ गरेको आधारमा उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी, संक्रमितका आफन्तलगायतको स्वाब भोली शनिबार साँझसम्म संकलन गरेर परीक्षण गरिनेछ । ‘प्रोटोकल अुनसार नै काम भइरहेको छ । कम्युनिटी मेडिसिनको टिमले कन्ट्याक ट्रेसिङ गर्छ,’डा.सापकोटाले भने,‘सर्तकता अपनाएका छौं । हिजो पनि वार्डलाई डिस्इन्फेक्ट गर्यौं, आज पनि गछौं ।’
प्रतिष्ठानका शिक्षाध्यक्ष एवं निमित्त उपकुलपति डा. गुरु खनालको अध्यक्षतामा आरआरटिको बैठक भएको थियो । उक्त बैठकले अर्थाे अब्जरभेसन वार्डमा रहेका विरामी र तिनको सम्पर्कमा रहेकाहरुलाई प्रतिष्ठानले नै खाना खुवाउने निर्णय पनि गरेको थियो । यस्तै, वार्डलाई डिस्इन्फेक्ट गर्ने र २ जना सेक्युरिटी गार्ड खटाएर सुरक्षित गर्नेलगायतको निर्णय पनि गरेको थियो । आरआरटिको यो निर्णयलगत्तै प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.विकास साहको अध्यक्षतामा अस्पताल प्रशासनको बैठक बसेको थियो । बैठकले पनि आरआरटिको निर्णयलाई कार्यान्वयन गराउन विभिन्न निर्णयहरु गरेको छ ।
अर्थो विभागका प्रमुख प्रा.डा.पशुपति चौधरीका अनुसार हाल २१ जना विरामी वार्डमा छन् । उनीहरुसँग एक एक जना कुरुवा पनि छन् । विरामी र कुरुवाहरुलाई पनि बाहिर निस्कन नदिईने र बाहिरबाट पनि कसैलाई भित्र प्रवेश गर्न नदिई प्रतिष्ठानले नै खानाको व्यवस्था गरिने उनले बताए । ‘संक्रमितको सम्पर्कमा रहेकाहरुको ट्रेसिङ गरेर हाई रिस्कमा भएकाहरुको शुरुमा जाँच गरिन्छ, उनीहरुको रिपोर्टको आधारमा थप निर्णय लिइन्छ,’विभागीय प्रमुख चौधरीले भने,‘स्वास्थ्यकर्मी, विरामी र तिनका कुरुवाहरु सबैको जाँच गछौं ।’सहायक अस्पताल निर्देशक डा.विकास साहका अनुसार उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु घरमा पनि आउजाउ भइसकेको हुनाले अब रिपोर्ट नआएसम्म घरमा नै क्वारेन्टाइनमा बस्ने निर्णय गरिएको जानकारी दिए ।