धरान: महिला सञ्जाल धरानले ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेलाई विदाई गरेको छ ।
ईलाका प्रहरी कार्यालयको कार्यकक्षमा महिला संजाल धरान उपमहानगर समितिले डिएसपी न्यौपानेलाई शुक्रबार प्रशंसा पत्र एवं शुभकामना सहित विदाई गरेको हो । डिएसपी न्यौपानेलाई सञ्जालकी अध्यक्ष सबिता राईले प्रशांसा पत्र प्रदान गरेकी थिइन् । धरानमा शान्ति सुव्यवस्था कायम राख्न महत्वपुर्ण भुमिका निर्वाह गरेको साथै महिला तथा बालबालिकाहरुको मुद्दामा निष्पक्ष भई कानुनी कार्वाही अघि बढाएको भन्दै सञ्जालले प्रशंसासहित विदाई गरेको सञ्जालकी अध्यक्ष राईले बताइन् ।
उनले १३ महिना अगाडि डिएसपी न्यौपानेले आयोजना गरेको स्थानिय संघसंस्था, राजनैतिक पार्टी, बौद्धिक व्यक्तिहरुसहितको परिचात्मक कार्यक्रम स्मरण गर्दै अध्यक्ष राईले भनिन्,'संजालको तर्फबाट राखेको सुझावमा महिला र बालबालिका मुद्दामा संवेदनशिल हुनुपर्छ । दबाब र प्रवाहमा नपरी महिला हिंसाको विरुद्धमा काम गर्नुपर्छ भन्ने हामीले सुझाव दिएका थियौं । उहाँले सोही अनुसार नै काम गर्नुभएकोले धन्यावाद पनि दिनचाहन्छौं ।'
डिएसपि न्यौपानेले लैंगिक हिंसाको विरुद्धमा कुनै पनि पक्षपात नगरी काम गरेको र धरानका सबै क्षेत्रबाट सहयोग, सहकार्य भएकोले १३ महिना सहजताका साथ काम गर्न सकेको बताए । कार्यक्रममा सञ्जालकी अध्यक्ष राई, संस्थापक अध्यक्ष गंगा बराल, संरक्षक मिना पुलामी, निवर्तमान अध्यक्ष शिला बज्रचार्यसहित वरिष्ठ उपाध्यक्ष चेतना श्रेङ, सचिव कोपिला भट्टराई, सहसचिव सीता मगर, कोषाध्यक्ष लहरुमाया जिमी र अन्य सदस्यहरुको पनि उपस्थिती रहेको थियो ।