धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित वालिका भेटिएकी अर्थो अब्जरभेसन वार्डमा रहेका अन्य विरामीका कुरुवा एवं आफन्तहरुले आज बिहान आक्रोश पोखेका छन् ।

उनीहरुले वालिकामा संक्रमण पुष्टि भएपछि डाक्टरहरु विरामीलाई हेर्न नआएको साथै विरामी र कुरुवाहरुको पिसिआर जाँच नगरिएको भन्दै आक्रोश पोखेका छन् । साथै उनीहरुले आज बिहान केही समय ओपिडी विल काउन्टर तथा प्रशासनिक भवन प्रवेश गर्ने गेट बन्दसमेत गराएका थिए । ‘हामीले बिहान ६ बजेदेखि नै ओपिडी प्रवेश गर्ने ढोका बन्द गरायौं, पछि गार्ड झ्यालबाट छिरेर जर्बजस्ती ढोका खोल्यो । डाक्टरहरु आएर कुरा गर्यो,’एक विरामीका आफन्त राजन न्यौपानेले भने,‘विरामी नर्सको भरमा थियो । नर्सले सबै कुरा गर्न नसक्ने रहेछ । हिजोसम्म डाक्टरहरु आउदै आएनन् ।’

ortho

न्यौपानेका अनुसार विरामी र कुरुवा बसेका सबैको पिसिआर जाँच गर्न माग गरिएको छ । संक्रमित वालिकालाई वार्डमा हेरेका डाक्टरहरुले अन्यलाई पनि हेरेको हुनाले उच्च जोखिम भएको भन्दै उनले विरामीका कुरुवाहरुको पनि पिसिआर जाँच गर्नुपर्ने बताए । ‘हिजोसम्म आवतजावत खुलेआम थियो । हामीलाई पनि राख्ने ठाउँ थिएन, यसरी त हामीमध्ये कोही संक्रमति छौं भने कति फैलिन्छ होला,’उनले भने,‘आज मात्र हामीलाई एउटा घेरामा राखेको छ ।’

प्रतिष्ठानले भने प्रोटोकल अनुसार संक्रमित देखिएपछि उपचार र पिसिआर जाँच गरिने जनाएको छ । सोही अनुसार नै कन्ट्याक ट्रेसिङ गरेर स्वाब संकलन भइरहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । ‘हिजो पनि कन्ट्याक ट्रेसिङ गरेर प्रोटोकल अनुसारको संक्रमितको सबैभन्दा नजिक को को आए, को कति दिनमा आएका हुन्, कति दुरीमा बसे भन्ने लिष्ट कम्युनिटी मेडिसिनले तयार गरेको छ,’उनले भने,‘हिजोबाटै स्वाब लिन सुरु गरिएको छ, आज पनि लिदैछौं ।’ विरामीको कुरुवाहरुले पिसिआर जाँचको माग गर्नु ठिक भएपनि प्रोटोकल अनुसार उनीहरुको विरामीको पहिला जाँच गरिने र पोजेटिभ आएपछि मात्र उनीहरुको पनि जाँच गरिने डा.सापकोटाले बताए ।